April 19, 2024
चैत्र १६, २०७९

हेटौंडा \  “सहकारीको दिगोपन, स्वनियमन र सुशासन” भन्ने नाराका साथ ६६ औं सहकारी दिवस विभिन्न कार्यक्रम गरी हरेक वर्ष झै यस वर्ष पनि भव्यरुपमा मनाईने भएको छ । बागमती प्रदेशको राजधानी हेटौडामा प्रदेश स्तरमा सहकारी दिवस मनाउनको लागि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल समारोह समिति गठन भईसकेको छ । समितिले बागमती प्रदेशभरका सहकारी संघ संस्थाहरुले सहकारी दिवसलाई प्रभावकारी रुपले सञ्चालन गर्न निर्देशन समेत दिएको छ ।

सहकारी दिवस मनाउने क्रममा चैत्र १५ गतेदेखि यसवर्षको नारा “सहकारीको दिगोपन, स्वनियमन र सुशासन” उल्लेख गरी सहकारीको कार्यालयमा सहकारी दिवसको ब्यानर राख्ने, सामाजिक संजालमा शुभकामना आदानप्रदान गर्ने, संचारमाध्यममा वर्तमान अवस्थामा सहकारीको अवसर चुनौती विषयमा लेख अन्तर्वार्ता प्रकाशन, प्रशारण गर्ने, चैत्र १८ गते रक्तदान कार्यक्रम गर्ने, १९ गते मानवसेवा आश्रम हेटौडामा खाद्यान्न वितरण गर्ने, २० गते बिहान भुटनदेवी मावि हेटौंडाको चौरबाट प्रभातफेरी र्‍याली सहित बजार परिक्रमा गरि पल्पसा हलमा प्रवचन, पुरस्कार वितरण गर्ने र २० गते साँझ प्रदेश भरका सहकारी संघ संस्थाको कार्यालयमा दीप प्रज्वलन सहित सहकारी दिवसको समापन गर्ने कार्यक्रम रहेको मूल कार्यक्रम संयोजक नारायण प्रसाद देवकोटाले बताए ।

यसैक्रममा बुधबार हेटौंडामा भएको ६६ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिको सचिवालय बैठकले सहकारी दिवस भव्यताका साथ मनाउन विभिन्न समितिको गठन गरेको छ । १८ गते बिहान बुद्ध चोकमा हुने रक्तदान कार्यक्रमको संयोजन गर्नको लागि जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, नेप्स्कुन फिल्ड कार्यालय हेटौंडा, राष्ट्रिय सहकारी बैंक हेटौंडालाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी १९ गते मानवसेवा आश्रम हेटौंडामा खाद्यान्न वितरणको लागि मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ, कृषि सहकारी संघ मकवानपुर लाई जिम्मेवारी तोकिएको छ । त्यस्तै मकवानपुर जिल्लाका विषयगत सहकारी संघहरुले उपलब्ध गराउने स्वयंसेवकहरुको संयोजन गर्ने गरि जिल्ला बहुउद्देश्यीय सहकारी संघका व्यवस्थापक महेश अधिकारी संयोजक रहनेगरि स्वयंसेवक व्यवस्थापन समिति गठन गरेको छ ।

साथै जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका व्यवस्थापक सुमित्रा कुमारी वाईवाको संयोजकत्वमा मकवानपुर जिल्लाका विषयगत सहकारी संघहरुका व्यवस्थापकहरु रहनेगरी मूल समारोहको मन्च व्यवस्थापन समिति गठन गरिएको छ ।

सहकारी दिवसको मूल कार्यक्रम प्रभातफेरी र्‍याली सहितको प्रवचन कार्यक्रमको मुल्यांकन गर्न वीरेन्द्र प्रसाद ढुंगानाको संयोजकत्वमा पुरुषोत्तम मिश्र, हिम प्रसाद पौडेल, विमला कार्की, शर्मिला महत सदस्य रहनेगरी मुल्यांकन समिति गठन गरेको छ ।

बैठकले सहकारी दिवसको प्रचारप्रसारकोलागि राज कुमार केसीलाई प्रेस संयोजकको जिम्मेवारी दिएको छ । सहकारी दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौडामा मूल कार्यक्रम हुनेछ भने प्रदेशका सबै जिल्ला र पालिका तहमा विविध कार्यक्रम सहित सहकारी दिवस मनाईने मूल समारोह समिति कार्यालय सचिव गोविन्द दाहालले बताएका छन् ।