हेटौंडा \ बैंकको चर्को व्याज र ज्यादती विरुद्धको आन्दोलनलाई सहयोग गरौं भनी आइतबार र सोमबार बैंकमा नगद जम्मा नगर्न सबैलाई आग्रह गरिएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघ, संघमा आवद्ध वस्तुगत संघहरु, निर्माण व्यवसायी संघ, नारायणी यातायात व्यवसायी संघ, होटल एशोसिएसन मकवानपुर लगायत विभिन्न व्यवसायीक संघहरुले हेटौंडामा चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
आइतबार शान्तिपूर्ण ¥याली सहित बैंकहरुमा पुगेर बन्द गराइएको थियो । त्यस्तै आज पनि मउवा संघको कार्यबहाक अध्यक्ष अनील अग्रवालको नेतृत्वमा हेटौंडा क्षेत्रका विभिन्न बैंकहरुमा पुगेर बैंकहरु बन्द गराइएको थियो ।
पूर्व निर्धारित कार्यक्रम आज सम्म रहने उनले बताए । अग्रवालका अनुसार हेटौंडाका अधिकांश बैंकहरुमा पुग्ने र नगद कारोबार बन्द गर्न आग्रह गरिने बताए । आइतबारपनि बन्द कार्यक्रम रहेकाले सोमबार शान्तिपूर्ण बैंक बन्द गर्ने कार्यक्रम रहेको बताए ।
मउवा संघको नेतृत्वमा विभिन्न संघसंस्था र वस्तुगत संघहरुको प्रतिनिधि तथा व्यवसायीहरुको सहभागिता रहेको थियो । व्यवसायीहरुको आन्दोलन सकिएकोले भोलीदेखी बैंक पूर्ण रुपमा सञ्चालन रहने अग्रवालले बताए । संघ तथा व्यवसायीहरुले केही दिनदेखी शान्तिपूर्ण चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् ।
यता, बैंक बन्द गरिएकोप्रति सर्वसाधारण सेवाग्राहीले दुःख व्यक्त गरेका छन् । टाढादेखी पैसा जम्मा र झिक्न आएका छौं बैंक बन्दले हामी समस्यामा परेको एक सेवाग्राहीले बताए । व्यवसायीहरुको मर्का त छदैं छ तर यसरी बैंकनै बन्द गर भन्नु चाहीँ नहुने उनले बताए । व्यवसायीले बैंक बन्द गर भन्छन्, सर्वसाधारण खोल्नुस भन्छन् हामी दोधारमा परेका छौं एक बैंकका कर्मचारीले बताए ।