November 14, 2024
फाल्गुन २५, २०७९

हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा बुधबार हेटौंडामा चर्को बैंक व्याजको विरुद्ध विरोध कार्यक्रम गरिएको छ । बागमती प्रदेशका उद्योग वाणिज्य संघहरुको सहभागितामा विरोध कार्यक्रम गरिएको हो । बागमती प्रदेशभित्र २८ वटा जिल्ला तथा नगर स्तरीय उद्योग वाणिज्य संघहरु संगठित रहेका थिए ।

विरोध कार्यक्रममा मकवानपुर जिल्लाका नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ, होटल एशोसिएशन, कपडा तथा तयारी पोशाक व्यवसायी संघ, मकवानपुर फर्निचर व्यवसायी संघ, मकवानपुर सुनचाँदी व्यवसायी संघ, मकवानपुर मदिरा व्यवसायी संघलगायत विभिन्न वस्तुगत संघहरु र स्थानीय उद्योगी/व्यवसायीहरुको सहभागिता रहेको थियो ।

पल्पसा हल परिसरबाट सुरु भएको ¥याली बुद्धचोक, पारिजातपथ, सिमाचोक हुदै पुनः बुद्धचोक आएर धर्नामा परिणत भएको थियो । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले उद्योगी/व्यवसायीको यो आन्दोलन शान्तिपूर्ण हुने र समस्या समाधान गर्न दवाव पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले व्याजदर न्यूनिकरण गर्न नियामक निकायहरुलाई आग्रहसमेत गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले उद्योगी/व्यवसायीहरु थुप्रै समस्याहरुबाट ग्रसित रहेको अवस्थामा बैंकको व्याजदर वृद्धिले थप पिडीत भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिका उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्योगी/व्यवसायीहरु अर्थतन्त्रका चालक भएकाले बैंक व्याज बढ्दा त्यसको नकारात्मक असर अर्थतन्त्रका सबै क्षेत्रलाई पर्ने हुँदा व्यवहारिक मौद्रिक नीति लागू गर्न सरकारलाई सुझाव दिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अर्का उपाध्यक्ष दिनेश श्रेष्ठले चालु पुँजीकर्जा मार्गदर्शन अव्यवहारिक रहेको बताएका थिए भने अर्थतन्त्रमा असहजता सिर्जना भएको समयमा निक्षेपमा व्याज बढाइनु गलत भएको, राष्ट्र बैंक र अर्थ मन्त्रालयले आवश्यक पहलकदमी नलिएको उनको भनाई रहेको थियो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, बागमती प्रदेश सदस्य उत्तमशर्मा ढकाललगायतको उपस्थिति रहेको थियो भने मउवासंघका महासचिव दीपक उप्रेती र उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रमोद सिंह रानाभाटले आफ्नो भनाई राखेका थिए ।