मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटार स्थित जनजागृति बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा भएको छ । संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेतको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सभामा पालिका उपाध्यक्ष मानकुमारी पाख्रीन, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य विदुर हुमागाई, वडा नम्बर ५ का वडा अध्यक्ष दिपेश दाहाल, वडा ६ का वडा अध्यक्ष कृष्णप्रसाद बजगाईको विशेष आतिथ्यता रहेको थियो ।
सभाको अवसर पारेर सहकारीले विभिन्न विधामा शेयर सदस्यहरुलाई पुरस्कृत गरेको थियो । दुधजन्य वस्तुको खरिद विक्री र संकलन कार्य गर्दै आइरहेको सहकारीले गुणस्तर तथा नियमित दुध विक्री गर्ने तुलसीप्रसाद तिमल्सिना, लेखनाथ ढुङ्गाना र हर्क बहादुर दाहाललाई नगद एक हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै, बचत तथा ऋण तर्फ नियमित बचत गर्ने भलनाथ घिमिरे, असल ऋणीतर्फ योगहरि गौतम र नियमित दुध खरिद गर्ने शारदा दाहाललाई नगद एक हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
सहकारीमा पाँच हजार भन्दा बढी दुध विक्री गर्ने प्रेमप्रसाद दुलाल(ख), इन्द्रबहादुर बस्नेत, मान बहादुर बस्नेत, विष्णुप्रसाद अधिकारी (नवराज), अम्बिका तिमल्सिना, अशोक स्याङ्तानलाई नगद पाँच हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । सभाकै अवसरमा संस्थाका संस्थापक अध्यक्ष स्व. नकुलबहादुर अधिकारी, संस्थापक व्यवस्थापक बद्री बहादुर अधिकारी, संस्थाको भवन निर्माणको क्रममा निर्माण सामाग्री(गिट्टी बालुवा) सहयोग गर्ने हरिप्रसाद घिमिरे र उत्तम बहादुर केसीलाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
७२ हजार पाँच सय शेयर पुजीँ रहेको संस्थाको जगेडा कोषमा २३ लाख ७९ हजार ३९९ रुपैयाँ रहेको छ । सहकारीको बचत निक्षेप १९ लाख ५० हजार ८७९ रहेको छ भने शेयर सदस्यलाई कर्जा लगानी २२ लाख ६५ हजार ६ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक राजन घिमिरेले बताए । सभामा व्यवस्थापक घिमिरेले १ करोड ८७ लाख ५४ हजार आम्दानी र १ करोड ७२ हजार ८१ हजार ३४० खर्च हुने अनुमानित आयव्यव प्रस्तुत गरेका थिए ।
सभामा वडा ५ का निवर्तमान अध्यक्ष जीतबहादुर घिमिरे, वडा सदस्य अर्जुन बहादुर रुम्बा, जनहित स्वावलम्बन साकोसका अध्यक्ष श्रीराम अर्जुन, बुङ्दल सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रप्रसाद दुलाल, सल्लाहकारहरु, संस्थाका पूर्व अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।