हेटौंडा \ बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा टोलफ्रि नम्बरको सुरुवात गरिएको छ । प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पोखरेलले टोलफ्रि नम्बरको बुधबार उद्घाटन् गरेका छन् ।
अब प्रदेशभरीका किसानहरुले आफ्ना समस्या मन्त्रालयमा सिधै पैसा नलाग्ने नम्बरमा फोन गरेर टिपाउन सक्नेछन् । किसान सहित मन्त्रालयसँग सरोकार राख्नेहरुको समस्या सुन्नको लागि निशुल्क सेवाको रुपमा ‘टोल फ्रि नम्बर’को सुरुवात गरेको हो ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पोखरेलले निशुल्क टेलिफोन सेवाको सुरुवात गर्दै टोल फ्रि नम्बरले किसानहरुले सिधै मन्त्रालयसँग पहुँच राख्नसक्ने बताउनुभयो ।
मन्त्रालयप्रति किसान वा सरोकारवालाले टोल फ्रि नम्बर १८१०५००००११ नम्बरमा निःशुल्क रुपमा फोन गरेर आफ्ना समस्या, गुनासोहरु टिपाउन सक्नेछन् । यो सेवा हाललाई कार्यालय समयमा मात्र हुने मन्त्रालयले जनाएको छ । फोनको चाप बढेको अवस्थामा समय पनि बढाइने मन्त्री पोखरेलले बताएका छन् ।
टोल फ्रि नम्बरले किसानको समस्या पहिचान हुने र प्राथमिकताको आधारमा उनीहरुको समस्यालाई समाधान गर्न मन्त्रालयले काम गर्ने मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले बताए ।