March 29, 2024
फाल्गुन ८, २०७९

हेटौंडा \  बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सप्ताहव्यापी रुपमा सञ्चालन गरेको भेडाबाख्रालाई पिपीआर रोग विरुद्धको खोप अभियानमा प्रदेशभर ९ लाख ७९ हजार २०२ वटा भेडाबाख्रालाई खोप लगाइएको छ । फागुन १ गतेबाट सुरुवात गरिएको खोप अभियान आइतबार सकिएको छ ।

अभियानमा प्रदेशभित्र पालन गरिएका ६ हजार ७५ वटा भेडा र ९ लाख ७३ हजार १२७ बाख्राजात गरि ९ लाख ७९ हजार २०२ भेडाबाख्रालाई खोप लगाइएको मन्त्रालयका पशु विकास महाशाखाका पशु विकास अधिकृत डा. निशान्त शर्मा गेलालले बताए ।

मकवानपुरमा सबैभन्दा बढीमात्रामा खोप लगाइएको छ । मकवानपुरमा १ लाख ५३ हजार ४२० बाख्रालाई खोप लगाइएको हो । सबैभन्दा कम खोप भक्तपुरमा रहेको छ । भक्तपुरमा ४ हजार १५३ बाख्रामा लगाइएको अधिकृत गेलालले बताए ।

भेडाको हकमा सबैभन्दा बढी धादिङमा रहेको छ । धादिङमा ४९१६ भेडालाई पिपीआर खोप लगाइएको छ । त्यस्तै, दोलखामा ७१०, नुवाकोटमा ३८६, रसुवामा २१, दोलखामा १० र काभ्रेमा २२ वटा भेडामा खोप लगाइएको हो । मकवानपुरपछि धेरै बाख्रा नुवाकोटमा रहेका छन् । नुवाकोटमा १ लाख ४४ हजार ८९५ वटा बाख्रामा खोप लगाइएको अधिकृत गेलालले बताए ।

प्रदेशको काभ्रे जिल्लामा एक लाख ३२ हजार २७०, ललितपुरमा ४४ हजार ५१३, काठमाडौंमा ४० हजार १४३, दोलखामा ८४ हजार १७६, सिन्धुपाल्चोकमा १९ हजार १३५ वटा भेडाबाख्रालाई खोप लगाइएको छ । त्यस्तै, सिन्धुलीमा ३२ हजार ४६२, रामेछापमा एक लाख ९ हजार, चितवनमा ८६ हजार ८०२, रसुवामा ३० हजार ४४०, धादिङमा ९७ हजार ४०७ भेडाबाख्रालाई खोप लगाइएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख रहेको छ ।
प्रदेशका १३ वटा जिल्लाका किसानले पालन गरेका भेडाबाख्रालाई पिपीआर रोगविरुद्ध खोप लगाउन ४ सय २५ जना भ्याक्सिनेटर र १ हजार २ सय ४४ खोप केन्द्रबाट सञ्चालन गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारीले बताएका छन् ।

अभियान बाहेक अन्य समयमा समेत मन्त्रालयले भेडाबाख्रालाई उक्त खोप लगाउदै आइरहेको अधिकारीले बताए । पीपीआर भेडाबाख्रामा विषाणुबाट लाग्ने संक्रामक रोग हो । यसलाई भेडाबाख्राको हैजा पनि भनिन्छ । नेपालमा पिपीआर रोगका कारण बर्सेनि भेडाबाख्रा मरेर कृषकहरूले ठूलो आर्थिक हानि बेहोर्नुपरेको अवस्था रहेको छ । यस्तो अवस्था आउन नदिनका प्रदेश सरकारले खोप अभियान सञ्चालनमा ल्याइएको अधिकारीले बताए । गतवर्ष पनि यस अभियान सञ्चालन गरिएको र यसले सार्थकता पाएको उनको भनाइरहेको छ ।

No description available.