हेटौंडा \ बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश भित्रका ८ लाख ३३ हजार १ सय ८९ भेडाबाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाएको छ ।
पीपीआर रोगविरुद्धको सप्ताहव्यापी खोप अभियानअन्तर्गत ६ गते शनिवार सम्म मन्त्रालयले प्रदेशका ४ हजार २६४ वटा भेडा र ८ लाख २८ हजार ९२५ वटा बाख्रालाई गरि जम्मा ८ लाख ३३ हजार १८९ वटा भेडाबाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारीले बताएका छन् ।
फागुन १ गतेदेखि सुरु भएको सप्ताहव्यापी खोप अभियानअन्तर्गत प्रदेशका १३ वटा जिल्लाका किसानले पालन गरेका भेडाबाख्रालाई पीपीआर रोगविरुद्ध खोप लगाइएको अधिकारीले बताए ।
खोप कार्यक्रम ४ सय २५ जना भ्याक्सिनेटर र १ हजार २ सय ४४ खोप केन्द्रबाट सञ्चालन भएको हो । अभियान बाहेक अन्य समयमा समेत मन्त्रालयले भेडाबाख्रालाई उक्त खोप लगाउदै आइरहेको छ ।
पीपीआर भेडाबाख्रामा विषाणुबाट लाग्ने संक्रामक रोग हो । यसलाई भेडाबाख्राको हैजा पनि भनिन्छ । नेपालमा पीपीआर रोगका कारण बर्सेनि भेडाबाख्रा मरेर कृषकहरूले ठूलो आर्थिक हानि बेहोर्नुपरेको अवस्था छ । यस्तो अवस्था आउन नदिनका प्रदेश सरकारले खोप अभियान सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।