November 14, 2024
माघ २८, २०७९

हेटौंडा \  संस्थागत रुपमा दुधको मूल्य वृद्धि गर्नका लागि केन्द्रीय दुग्ध सहकारी संघले सरकार संग गरेको माग प्रति मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले एैक्यवद्धता जनाएको छ । शुक्रबार मकवानपुर जिल्ला सहकारी संघले जारी गरेको प्रेस विज्ञप्तीमा फागुन १ गते देखि लागुहुनेगरी दूधको मूल्य वृद्धि गर्न अल्टिमेटम दिदै उक्त समय सिमाभित्र दूधको मूल्य वृद्धि गर्न आग्रह गरिएको छ ।

संघका अध्यक्ष हरि प्रसाद कंडेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा निर्धारित समयमा दुधको मूल्य वृद्धि नभएमा डेरी उद्योगीहरुको समन्वयमा दूधको मूल्य वृद्धिको घोषणा गरिने उल्लेख गरिएको छ । कंडेलले कृषकहरुलाई पशुपालन पेशामा अकर्षित गराई दूधमा आत्मनिर्भर बनाउन दुधको मूल्य बढाउन पर्ने बताए ।

उनले पशुपालन पेशामा युवाहरुलाई आकर्षित गरी विदेश पलायन हुने अवस्थाबाट जोगाउन सरकारको ध्यानाकर्षण गराए । पशुलाई खुवाउने पराल, दाना चोकर, औषधि लगायतको मूल्य अत्याधिक वृद्धि हुनु, कोभिडको प्रभावबाट पशुपालन पेशा जर्जर अवस्थामा रहेकोले हाल दुधको मूल्य वृद्धि गर्न सरकार समक्ष अनुरोध गरिएको मकवानपुर जिल्ला दुग्ध सहकारी संघले जनाएको छ ।

संघका अनुसार सरकारले यही फागुन १ गतेदेखि दुधको मूल्य वृद्धि नगरेमा कृषकहरु देशव्यापी आन्दोलनका कार्यक्रमहरु सहित सडकमा उत्रनेछन् । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि अन्तर्गत रहेका ६० वटा प्रारम्भिक दुग्ध उत्पादक सहकारी संस्थाद्वारा दैनिक करिब ४० हजार लिटर दूध संकलन गरि विभिन्न उद्योगहरुमा बिक्री वितरण गर्दै आएको छ ।

संघले हाल दैनिक ११ हजार परिवारको दूध संकलन गर्दै करिव २७ लाखको हाराहारीमा शहरको पूँजी दैनिक गाउँ पुर्‍याउँदै गरिव विपन्न किसानहरुको आयआर्जनमा टेवा पुर्‍याउने काम गर्दै आएको संघका व्यवस्थापक कुमारमणी दाहालले बताए ।