
थाहानगर \ पर्याप्त रासायनिक मल नपाउँदा मकवानपुरको उत्तरी क्षेत्र थाहा नगर लगायतका कृषकहरु चिन्तित छन् । बेमौसमी तरकारी खेतीको लागि पहिचान बनाएको थाहा नगरका कृषकहरु जसोतसो खेती गरिएपनि मल अभावले उत्पादन नहुने भएपछि चिन्तित भएका हुन् ।
‘खेती त जसोतसो गरिएला तर मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ ।’, थाहा ३ का कृषक सरोज कार्कीले दुखेसो पोखे । उनी जस्तै मकवानपुर जिल्लाका अधिकांश किसानले रासायनिक मल नपाउँदा हैरान भएका छन् ।
रासायनिक मल नहाली तरकारी उत्पादन नहुने हुनाले किसानहरु खेती लगाउने कि नलगाउने दोधारमा कृषकहरु परेका छन् । यतिबेला थाहाका किसानलाई आलु, काउली, बन्दा अन्य बालीका लागि ठूलो परिमाणमा रासायनिक मल आवश्यक छ ।
‘दिनभरि मलको लागि लाइनमा बस्यो १० किलो रासायनिक मलका पाईन्छ । हामीलाई कम्तीमा चार बोरा मल चाहिएको छ ।’ कृषक विजय अधिकारीले बताए ।
विगत २ वर्षदेखि रासायनिक मलको अभाव भएकोले कृषकहरुले सोचेजति उत्पादन लिन सकेका छैनन् । किसानले समयमै मल, वीउविजन, कृषि औजार तथा उपकरणसमेत नपाउने अवस्था छ । खेतीको समयमा मल तथा वीउ अभाव सामान्य भइसकेको छ । रासायनिक मल किन्न बिहानैदेखि सहकारी संस्था कुरेर बस्नुपर्ने किसानको बाध्यता रहेको छ । सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिँदा किसान मारमा परेका छन् । खेतीबारीमा व्यस्त हुने किसान दिनभर मलको खोजीमा भौँतारिरहन परेको छ ।
थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले थाहा नगरमा एकै सिजनमा तीन पटकसम्म तरकारी उत्पादन हुने भएकोले प्रदेश सरकारले निर्धारण गरेको कोटाले मात्रै नपुग्ने हुँदा मलको वितरण प्रणालीलाई पुनः बिचार गर्नुपर्ने बताए । उनले थाहा नगरको लागि मलको कोटा बढाउनको लागि बागमती प्रदेश सरकारको मूख्यमन्त्री कार्यालय र कृषि तथा पशुपंक्षी मन्त्रालय समक्ष अनुरोध गरिएको बताएका छन् ।
बागमती प्रदेशका लागि यस आर्थिक वर्षमा १४ हजार ८६ मेट्रिकटन रासायनिक मल प्राप्त भएको कृषि सामग्री कम्पनी लिमिटेडको बागमती प्रदेश कार्यालय हेटौंडाका प्रादेशिक प्रबन्धक प्रकाश चन्द्र ज्ञावलीले बताए । उनका अनुसार बागमती प्रदेश कृषि मन्त्रालयले निर्धारण गरे अनुसार स्थानीय तहको सिफारिस अनुसार मलको वितरण गरिने बताएका छन् ।