April 19, 2024
पुस २९, २०७९

हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको महाकाली दुग्ध उत्पादक सहकारी संस्थाको शुक्रबार २६ औं वार्षिक साधारण सभा भएको छ । संस्थाका अध्यक्ष प्रेमचन्द्र मगरको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दोर्जेलामा स्याङ्तानको प्रमुख अतिथ्यतामा सभा भएको थियो ।

सभाको अवसरमा सहकारीले विभिन्न विधामा कृषकहरुलाई पुरस्कृत गरेको छ । सहकारीले धेरै दुध विक्री गर्ने गुणराज तिमल्सिना, गंगा बहादुर थापामगर र रामप्रसाद पुडासैनीलाई नगद सहित पुरस्कृत गरिएको थियो ।

त्यस्तै, गुणस्तर तर्फ भैंसीको दुध विक्री गर्नेमा शेरबहादुर पाख्रीन, केशब प्रसाद दुलाल र नवराज दुलाललाई भैसीलाई खुवाउने भिटामिन सहित पुरस्कृत गरिएको थियो । गाईतर्फ भने गोमा सापकोटा, नारायण दहाल र औतार सिं ठाडामगर लाई पनि भिटामिन सहित पुरस्कृत गरिएको थियो ।सहकारीले सरसफाई तर्फ रचना दर्लामीमगर, टेक बहादुर बुढाथोकी, भीम बहादुर घलानलाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष बखानसिं पाख्रीन, जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष अर्जुनप्रसाद देवकोटा, श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष हरि प्रसाद हुमागाई, वंशगोपाल माविका अध्यक्ष रामप्रसाद पुडासैनी, विद्यालयका प्रअ सन्देश तुम्सिङ मगरलगायतको आतिथ्यता रहेको थियो ।