December 12, 2024
पुस १५, २०७९

हेटौंडा \ हेटौंडा ९ पशुपतिनगरमा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाले २७ औं वार्षिकोत्सवको अवसरमा नवनिर्वाचित सांसदहरु, पत्रकार, असल बचतकर्ता, ऋणी, जेष्ठ नागरिक, एकल महिला, जेष्ठ शेयर सदस्य, कर्मचारी तथा सहयोगीहरुलाई सम्मान गरेको छ ।

सहकारीले असल बचतकर्ता प्रतिमा बाबु श्रेष्ठ, असल मासिक बचतकर्ता सोमबहादुर दोङ्ग लामा, असल ऋणी सुशिला कमिनी, वृद्ध भत्ता प्राप्त गर्ने सदस्यहरु, वडाको जेष्ठ नागरिक, एकल महिला, जेष्ठ शेयर सदस्यहरु, पत्रकार अशोकसुजन श्रेष्ठलाई नगद तथा उपहारसहित शुक्रबार हेटौंडामा सम्मान गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ र लक्ष्मी कुमारी श्रेष्ठलाई दोसल्ला ओडाएर बधाई तथा सम्मान गरिएको थियो । त्यस्तै, सहकारीको खुत्रुके बचतकर्ता, उत्कृष्ट बचत समूह, सहकारीको दैनिक निर्माण सामग्री लोड अनलोड गर्ने सहयोगीहरु, संस्थाबाट सम्पूर्ण निर्माण सामग्री प्रयोग गरी घर निर्माण गर्ने सदस्यहरु, नियमित कारोबारीहरु, निर्माण सामग्री बिक्रीमा विशेष भुमिका खेल्नेहरु, सहकारीका विशेष सहयोगी लगायतलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले सहकारी सामाजिक संस्था भएकाले जागरण र समाजको विकासको महत्वपूर्ण काम गर्नुपर्ने बताए । ‘सहकारीहरुको सामाजिक गतिविधि प्रसंशनीय भएपनि अझै धेरै काम गर्नुपर्छ,’ उनले भने । ‘सहकारी र यस क्षेत्रको विकास मैले सक्दो ध्यान दिनेछु ।’

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले उपमहानगरले सहकारीसम्बन्धि नीति बनाउँदै गरेको भन्दै आर्थिक उद्यम विकासमा सहकारीहरुले भुमिका खेल्नुपर्ने बताइन् । ऋण लगानी गर्दा सहकारी सचेत हुनुपर्ने भन्दै एक जना ऋणी घाटामा जाँदा समग्र सहकारीमा असरपर्नेमा गम्भीर हुनुपर्ने उनको भनाइ रहेको थियो ।

‘कोभिड, डेंगु जस्ता रोगबाट नगरबासीलाई जोगाउन हामीले भुमिका खेलेका छौ,’ उनले बताइन् । ‘सफा हेटौंडा, स्वच्छ हेटौंडा भन्ने अभियान जस्ता अभियानमा जोडिन सहकारी र सहकारीकर्मीलाई आग्रह गरेकी छिन् ।

कार्यक्रममा हेटौंडा ९ का वडा अध्यक्ष सुकराम केसी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, सहकारीका सल्लाहकार प्रकाश पौडेल, निरन्जन ढकाल, विजेन्द्र अग्रवाल, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ९ की अध्यक्ष रमिला सापकोटा लगायतकाको आतिथ्यता रहेको थियो ।