January 29, 2023
खबर सहकारी

 हेटौंडा \  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेशले वार्षिक साधारणसभा नगर्ने सहकारी संस्थालाई बचत संकलन र ऋण प्रवाहमा रोक लगाइने जनाएको छ । मन्त्रालयले सहकारी संघसंस्थाहरुलाई ३ बुँदे नयाँ निर्देशन जारी गर्दै यस्तो जनाएको हो ।

मन्त्रालयलद्वारा जारी निर्देशन अनुसार नियमित रुपमा वार्षिक साधारणसभा नगर्ने सहकारीलाई बचत संकलन र ऋण प्रवाहमा रोक लगाएको छ । त्यस्तै सार्वजनिक बिदा बाहेक अन्य दिनमा कार्यालय बन्द नगर्न पनि निर्देशन छ । केही सहकारी संस्थाहरुले आफू खुसी कार्यालय बन्द गरेको गुनासो आएपछि मन्त्रालयले सार्वजनिक बिदा बाहेक अन्य दिनमा कार्यालय बन्द नगर्न निर्देशन दिएको हो ।

यस्तै मुख्य कारोबार गर्ने सहकारी संघसंस्थाले बाहेक अन्य सहकारीले बचत तथा ऋणको मुख्य कारोबार गरेको पाइएको भन्दै प्रचलित सहकारी ऐन, नियममा भएको व्यवस्था बमोजिम आफ्नो कारोबारको अनुपात मिलाउन निर्देशन दिएको छ । मन्त्रालयले सहकारी संस्थाहरुले पुस मसान्तसम्म साधारणसभा सम्पन्न गरिसक्नुपर्ने र साधारणसभा सम्पन्न गरेको रिपोर्ट माघ १५ गतेसम्म सहकारी संस्थाले मन्त्रालयमा बुझाइसक्नुपर्ने जनाएको छ ।

माघ १५ गतेसम्म पनि सहकारी संस्थाले रिपोर्ट नबुझाएमा त्यस्ता सहकारी संस्थालाई बचत संकलन र ऋण प्रवाहमा रोक लगाउने मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार बागमती प्रदेशमा करिब ३ हजार ३ सय २६ वटा सहकारी संस्था आवद्ध रहेका छन् जसमध्ये हालसम्म एकहजार २ सय वटा सहकारी संस्थाले साधारणसभा सम्पन्न गरी रिपोर्ट बुझाइसकेको पनि उल्लेख गरिएको छ ।