मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका ४ कालिखोलामा उत्पादन भएको कोदो राष्ट्रिय आविस्कार केन्द्र काठमाडौंमा पुगेको छ । आविष्कार केन्द्रले उत्पादन गरेको कोदो टिप्ने मेशिन , सुकाउने सोलार ड्रायर र झार्ने मेसिन परिक्षणका लागि यहाँको कोदो लगिएको मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख कृषि अधिकृत चन्द्रकान्त चौधरीले बताए ।
कोदो उत्पादन क्षेत्रको रुपमा रहेको कालीखोला क्षेत्रमा कालिखोलामा रहेको अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले कृषकहरुबाट उत्पादित कोदो खरिद गरिरहेको छ । गाउँपालिकाको अनाजमा अनुदान कार्यक्रम अनुसार कृषकहरुबाट सहकारी मार्फत कोदो खरिद गरेबापत पालिकाबाट प्रति केजी थप ४ रुपैया (कृषकलाई २ रुपैया र सहकारीलाई २ रुपैया) प्रोत्साहन अनुदान उपलब्ध गराईने कृषि शाखा प्रमुख चौधरीले बताएका छन् ।
२०७६ सालमा युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा राष्ट्रिय आविष्कार केन्द्रको निर्माण गरिएको छ । जनस्तर र विदेशीको सहयोगमा करिब आठ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो । नेपाली जनताले दिएको दान र विदेशीहरुको सहयोगमा केन्द्रको स्थापना गरिएको बताइएको छ ।
नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको वस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी सो केन्द्र स्थापना गरिएको सो केन्द्रका अध्यक्ष महावीर पुनले बताएका छन् । केन्द्रले विभिन्न खालका उपकरणहरु उत्पादन गरिरहेको छ ।