हेटौंडा \ हेटौंडा २ मा रहेको परिचय बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष दीपक तिमल्सिनाको सभाध्यक्षता तथा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सहकारीले आव २०७८/०७९ मा १६ करोड २९ लाख ८९ हजार ६१ रुपैयाँको कारोबार गरेको छ । संस्थाले आफ्ना सदस्यलाई विभिन्न उद्देश्यका लागि १२ करोड ३६ लाख ३० हजार ७७२ रुपैयाँ कर्जा लगानी गरेको छ । ५०५ शेयर सदस्य रहेको सहकारीमा ३ करोड ३६ लाख १ हजार तीन सय शेयरपुजीँ रहेको छ । सहकारीमा बचत निक्षेप ११ करोड ७२ लाख ७० हजार ६२७ रुपैयाँ रहेको छ भने जगेडा कोष १५ लाख ६२ हजार २२० रहेको संस्थाका व्यवस्थापक सुशान्त तिमल्सिनाले बताए ।
सभाको अवसर पारेर सहकारीले विभिन्न विधामा पुरस्कार तथा सम्मान गरेको छ । उत्कृष्ट परिचय बोनस बचतकर्ता मालती थापा र रामप्रसाद फुयाँल, विशेष बालबचतकर्ता केशिका श्रेष्ठ, परिचय व्यवसायिक बचतकर्ता केदार श्रेष्ठ र मेघनाथ चौलागाई, नारी बचतकर्तामा सुनमाया घलान, लखपति बचतकर्ता राजु राई, सुरेश प्रसाद, सीतादेवी अधिकारीलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै, असल कारोबारी सीतादेवी श्रेष्ठ र टुल बहादुर श्रेष्ठ र उत्कृष्ट कर्मचारी तर्फ बजार प्रतिनिधि दीपा पुडासैनीलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य हिमाल पौडेल, हेटौंडा उपमहानगरका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, हाम्रो गोर्खा साकोसका अध्यक्ष चक्रधर विडारी, संस्थाका लेखा संयोजक विष्णुप्रसाद न्यौपाने, उपमहानगरका सहकारी शाखाका सहायक अधिकृत सुस्मिता बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।