April 20, 2024
पुस ८, २०७९

मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा ४ कालिखोलामा रहेको अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले कृषकहरुबाट उत्पादित कोदो खरिद गर्न सुरु गरेको छ । बिहीबार पहिलो दिन १२ जना कृषकहरुबाट २ हजार ८ सय केजी कोदो खरिद भएको जनाइएको छ ।

मकवानपुरगढी गाउँपालिकाको कृषि विकास कार्यक्रम तर्फ अनाज खरिद बिक्री कार्यमा प्रोत्साहन अनुदान उपलब्ध कार्यक्रम अनुसार कोदो खरिद कार्य सुरुवात गरिएको सहकारीका अध्यक्ष दिलबहादुर योञ्जनले बताए ।

गाउँपालिकाको अनाजमा अनुदान कार्यक्रम अनुसार कृषकहरुबाट सहकारी मार्फत कोदो खरिद गरेवापत पालिकाबाट प्रति केजी थप ४ रुपैया (कृषकलाई २ रुपैया र सहकारीलाई २ रुपैया) प्रोत्साहन अनुदान उपलब्ध गराईने गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

खरिद गरिएको कोदोलाई पिठो बनाएर बिक्री गर्ने साथै माग भए अनुसार कोदोको दाना फलेर बिक्री गर्ने लक्ष्य सहकारीको रहेको छ ।

रैथानेबाली प्रवर्द्वन कार्यक्रम अन्तर्गत मकवानपुरगढी गाउँपालिकाको सहयोगमा यसै वर्षदेखि कोदोको पिठो प्याकेजिङ र लेबलिङ गरि बजारमा बिक्रीको लागि पठाउने तयारी समेत भइरहेको अध्यक्ष योन्जनले बताए ।

No photo description available.