September 7, 2024
पुस २, २०७९

मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिकाको वडा नं ८ बुढिचौरमा दुग्ध संकलन गर्न सुरु गरिएको छ । सोही ठाउँमा रहेको एकता स्वावलम्बन कृषि सहकारी संस्थाले पौष १ गते देखी दुग्ध संकलन गर्न सुरु गरेको हो ।

पहिलो दिन १३ जना किसानबाट करिब ६० लिटर दुध सङ्कलन गरिएको संस्थाका कोषाध्यक्ष तथा पशु प्राविधिक कर्ण राज विश्वकर्माले बताए ।

बुढिचौर तरकारी खेतीको साथै पशुपालनको लागि पनि उपयुुक्त ठाउँ भएकोले आगामी दिनमा दैनिक २ हजार लिटर सम्म दुध सङ्कलन गर्ने उद्देश्य राखिएको र दुहुना पशु खरिदमा सहुलियत ब्याज दरमा किसान क्रेडिट कार्ड मार्फत ऋण उपलब्ध गराईने कोषाध्यक्ष विश्वकर्मा बताएका छन् ।

संकलन गरिएको दुध मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको समन्वयमा हेटौडामा रहेका दुग्ध पदार्थ उत्पादन गर्ने विभिन्न उद्योगहरुमा बिक्री गरिने बताइएको छ । आफुले उत्पादन गरेको दूध सोही ठाउँमा बिक्री गर्न पाउँदा किसान पनि खुशी भएका छन् ।

संस्थाका अध्यक्ष बालनन्द तिमल्सिना, हेटौडामा रहेका विभिन्न दुग्ध पदार्थ उद्योगका प्रतिनिधिहरु र मकवानपुरगढी गाउँपालिका वडा ८ का वडाध्यक्ष कुमारसिं घिसिङ्गको उपस्थितिमा दुग्ध सङ्कलन सुरु गरिएको हो ।