February 19, 2025
पुस २, २०७९

निर्वाचित नयाँ कार्यसमितिहरु

हेटौंडा \ हेटौंडा ४ मा रहेको श्री मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः भोलाप्रसाद शर्मा खरेल चयन भएका छन् । शनिबार भएको संस्थाको २३ औँ वार्षिक साधारणसभाबाट खरेल पुनः अध्यक्ष चयन भएका हुन् । संस्थाको उपाध्यक्षमा निर्जा उप्रेती, सचिवमा भोगेन्द्र लुईटेल, कोषाध्यक्षमा बुद्धीनाथ खतिवडा चयन भएका छन् ।

यसैगरी सदस्यमा त्रैलोक्ये मोहन ठिके, उत्तम घिमिरे, जयराम अधिकारी, हरिकृष्ण के।सी।, लक्ष्मी गौतम, केदार पुडासैनी र शम्भुप्रसाद बास्कोटा चयन भएका छन् । यसैगरी संस्थाको लेखा समिति संयोजकमा पुनः हरिप्रसाद रिजाल नै चयन भएका छन् । लेखा समितिको सदस्यमा बन्दना सुवेदी र राजकुमार जोशी चयन भएका छन् ।

संस्थाको चुक्ता शेयर पूँजी १ करोड ३६ लाख २ हजार ३ सय रुपैयाँ रहेको छ । १ हजार ६३ जना शेयर सदस्य आवद्ध रहेको सहकारी ले आफ्ना शेयर सदस्यलाई ६ करोड ७६ लाख २६ हजार ५७१ रुपैयाँ कर्जा लगानी गरेको छ । सहकारीको बचत निक्षेप भने १ करोड ६० लाख ३८ हजार ३२२ रुयैयाँ रहेको छ । जगेडा कोषमा १ करोड ३० लाख ७२ हजार ६७५ रुपैयाँ रहेको व्यवस्थापक रामहरि खरेलले बताए ।

संस्थाको अध्यक्ष भोला प्रसाद शर्मा खरेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । सहकारीले जेष्ठ नागरिकमा कृष्णप्रसाद सुवेदी र तीलकुमारी तामाङ, असल बचतकर्तामा मनोज रिजाल र बासुदेव श्रेष्ठ, असल ऋणी पंकज ठाकुर र राजुकुमार श्रेष्ठ, उत्कृष्ट जेहेन्दार तथा गरिब विद्यार्थीमा अनुभव ढुङ्गाना र रोजी लामालाई नगदसहित पुरस्कार प्रदान गरेको थियो ।

कार्यक्रममा हेटौंडा ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देल, हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याललगायतको आतिथ्यता रहेको थियो ।