December 12, 2024
मंसिर २७, २०७९

हेटौंडा \  कृषि विकास निर्देशनालय, बागमती प्रदेश हेटौंडाको आयोजनामा हेटौंडामा कृषि, शिक्षा, प्रसार तथा अनुसन्धानबीच समन्वात्मक गोष्ठि भएको छ । कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाँईले इच्छा शक्ति भएमा धेरै काम गर्न सक्ने बताएका छन् ।

राजनीतिक नेतृत्वले बिचार दिने र बाँकी काम कर्मचारीहरुलेनै गर्ने रहेको बताउँदै आफ्नो मन्त्रालयले ऐन र कार्यविधिहरु धेरै निर्माण गरेको र कार्यान्वयन चरणमा गइसकेको बताएका हुन् । प्रदेशका सबै जिल्लामा कृषि र पशुका कार्यालयहरु खोलेर नागरिकलाई सहज रुपमा सेवा दिने तयारीका साथ लागिपरेको उनले बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले पहिलेदेखि चल्दै आएको भन्दा पनि अब नयाँ ढंगले काम गर्नुपर्ने बेला आएको बताए । किसानका निम्ती प्राथमिकता दिएर काम गर्न उनले मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।  आफुहरुले आफ्नो मन्त्रालय तहबाट गर्न सक्ने काम गरेर देखाउने बताए ।

कृषि विकास निर्देशनालय हेटौंडाका निमित्त निर्देशक भरत प्रसाद विडारीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ, कृषि वन विश्व विद्यालयका अनुसन्धान तथा प्रसार निर्देशक प्राध्यापक डा. अर्जुन कुमार श्रेष्ठ र राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका कार्यक्रम संयोजक डा. चित्र बहादुर कुँवरले कार्यपत्र प्रस्तुत गरेका थिए ।