April 19, 2024
मंसिर १९, २०७९

कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाका किसानहरुलाई सहकारी मार्फत युरिया मल वितरण भइरहेको छ ।
गाउँपालिका वडा नम्बर ९ नामटारमा रहेको कालिका कृषि सहकारी संस्थाले सोमबारबाट मल विक्री सुरु गरेको हो । मलको अभाव भइरहेको बेला गाउँपालिकाको सहकार्यमा सहकारी मार्फत किसानहरुलाई मल विक्री सुरु गरिएको सहकारी संस्थाका व्यवस्थापक शान्ति घिसिङले बताइन् । चार किसानलाई एक बोराको दरले विक्री गरिएको उनको भनाई रहेको छ ।

वडामा हाल ५० बोरा युरिया मल आएको र सोही अनुरुप किसानलाई वितरण गरिएको वडा ९ का अध्यक्ष भुवन सिं घलानले बताए । यति मल त अपुग हो तर विस्तारै मल ल्याई थप किसानहरुलाई वितरण गरिने उनले बताए । पहिला पहिला पनि सहकारी मार्फत नागरिकता संकलन गरि युरिया डिएपी मल वितरण गर्ने गरेको अध्यक्ष घलानले बताए ।
सहकारीले वडा ९ र १० का किसानलाई छुट्टाछुट्टै स्थानबाट वितरण गरिएको छ । दुई वडामा एक सय बोरा मल पहिलो चरणमा आएको वडाका कृषि प्राविधिक गंगा घिमिरेले बताइन् ।

गाउँपालिकाको सिफारिसमा साल्ट ट्रेनिङबाट पाँच सय बोरा युरिया, कृषि सामाग्रीबाट पाँच सय बोरा युरिया र ३६० बोरा डिएपी पालिकाको लागि आइपुगेको गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले बताए । पालिकालाई यति मल अपुग रहेकाले आवश्यक थप ल्याउने तयारीमा पालिका रहेको उनले बताए ।

तरकारी खेती क्षेत्र, तोरी, अदुवा मकै, धान उत्पादनहुने कैलाश गाउँपालिकामा समयमा मल नहुदाँ कृषकहरुले सोच जति वस्तु उत्पादन गर्न नसकिरहेको किसानहरुको गुनासो रहेको छ । थोरै भएपनि पालिकाको समन्वयमा सहकारीमार्फत मल प्राप्त गर्दा किसानहरुमा खुसी छाएको उपाध्यक्ष मल्लले बताए ।