
काठमाडौं \ राष्ट्रिय सहकारी महासंघले सन्दर्भ ब्याजदर बजार अनुरुप स्वचालित हुनुपर्ने बताएको छ । महासंघले सोमबार विज्ञप्ति जारी गर्दै समग्र वित्तीय क्षेत्रमा नै समस्या आएकोले सहकारी क्षेत्रलाई सन्दर्भ ब्याजदरको सीमामा बाध्न नहुने बताएको हो ।
महासंघले वित्त बजारमा ब्याजदरमा उतारचडाव आउँदा सहकारी संस्थामा क्यापिङका रुपमा रहेको सन्दर्भ ब्याजदरले थप प्रतिकुल अवस्था सिर्जना गरेको बताएको छ ।
महासंघले विज्ञप्तीमा सहकारीको सन्दर्भ ब्याजदरलाई पुनरावलोकन गरि क्यापिङको रुपमा नभइ बजार अनुरुप स्वचालित रुपमा निर्धारण हुने कानुनी ब्यवस्था मिलाउन भनेको छ ।
त्यसैगरी सहकारी संघसंस्थाको वित्तीय जोखिम न्यूनीकरण गर्न ऐन नियमावलीमा व्यवस्था भएको कर्जा सूचना केन्द्र, ऋण असुली न्यायधीकरण, बचत तथा कर्जा सुरक्षण गठन नभएकाले सहकारी संघ/संस्थामा जोखिम बढ्दै गइरहेको बताएको छ।
महासंघले पटक-पटक सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न सुझाव बुझाएकोमा बेवास्ता भएको भन्दै यस्तो हुनु दुःखद भएको समेत जनाएको छ ।
हाल सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत कायम गरिएको छ । कोभिड-१९ र रुस-युक्रेन युद्धको प्रभाव आन्तरिक तथा बाह्य कारणले मुलुकको अर्थतन्त्रमा गम्भीर समस्या आइरहेका बेला सहकारीमा यस्तो सन्दर्भ ब्याजदरको सीमा तोकिनु उपयुक्त नभएको महासंघको भनाइ छ ।
साथै सहकारी ऐन नियमावलीमा व्यवस्था भएको कर्जा सूचना केन्द्र, ऋण असुली न्यायधीकरण गठन, बचत तथा कर्जा सुरक्षण कोष गठनमा ढिला भएको समेत विज्ञप्तीमा उल्लेख छ ।