हेटौंडा \ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ भैसेंमा रहेको महिला एकता बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः शर्मिला महत चयन भएकी छिन् । शनिबार भएको २४ औं वार्षिक साधारण सभा तथा ९ औं निर्वाचन कार्यक्रमबाट महतले पुनः सहकारीको नेतृत्व लिएकी हुन् ।

सहकारी उपाध्यक्षमा लक्ष्मी कुमारी राना, सचिवमा तारा जोशी, कोषाध्यक्षमा लक्ष्मी आले जर्गा चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा सानुमाया मोक्तान, मनिता कुमारी दोङ, संगीता सापकोटा, कोपिला राना र अस्मिता आले रहेका छन् ।

भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जिव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव बिरेन्द्रप्रसाद ढुङ्गाना, भीमफेदी वडा २ का अध्यक्ष काशीराम बज्यु, श्रीकृष्ण माविका अध्यक्ष सुमित्रा नेगी, कालिका प्राविका प्रअ प्रकाश थापा लगायतको आतिथ्यता रहेको थियो । सभा संस्थाका अध्यक्ष शर्मिला महतको सभाध्यक्षतामा भएको थियो ।

May be an image of 5 people

सहकारीले आफ्ना शेयर सदस्यलाई ८ करोड ६ लाख ४५ हजार ३५६ रुपैयाँ कर्जा लगानी गरेको छ भने एक करोड ४ लाख ६४ हजार एक सय रुपैयाँ शेयर पुजीँ रहेको संस्थाका व्यवस्थापक शर्मिला ढुङ्गानाले बताइन् । सहकारीमा ७ करोड ५६ लाख ५ हजार ३९६ बचत निक्षेप रहेको छ भने जगेडा कोषमा ८० लाख १४ हजार ४८६ रुपैयाँ रहेको छ ।