April 19, 2024
अशोज ३०, २०७९

तनहुँको देवघाट गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुवात गरेको छ । चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समावेश गरिए बमोजिम गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको हो ।

गाउँपालिकाले वडा नम्बर ५ को गणेश टोलबाट अल्पसङ्ख्यक जातिको स्वास्थ्य बीमा सुरु गरेको वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए । यस टोलका २७ बोटे परिवारको स्वास्थ्य बीमा गरिएको छ । यस वडामा दुई सय ५० भन्दा बढी घरधुरी बोटे जातिको छ । “पहिलो चरणमा २७ परिवारको स्वास्थ्य बीमा गरेर बीमा कार्ड हस्तान्तरण गरेका छौ,” उनले भने, “क्रमशः सबै परिवारको बीमा गरिनेछ ।”

गाउँपालिकाका पाँच वटामध्ये सबैभन्दा बढी बोटे परिवार यही वडामा बसोबास गर्छन् । साथै यो वडामा एक परिवार चेपाङको बसोबास रहेको छ भने गाउँपालिकाभरी दुई परिवार बराम जातिको छ । “सबै वडामा अल्पसङ्ख्यक परिवारको तथ्याङ्क सङ्कलन भइरहेको छ,” उनले भने ।

आर्थिक रुपमा विपन्न र पछाडि पारिएका व्यक्तिलाई स्वास्थ्यको पहुँचसम्म ल्याउन निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अगाडी बढाइएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए। गाउँपालिकाले अल्पसङ्ख्यक जातिको पहिचान गरी बीमा गर्नका लागि रु तीन लाख ५० हजार विनियोजन गरेको छ । गाउँपालिकाले सीमान्तकृत तथा आर्थिक सामाजिक रुपले पछाडी परेको भुजेल जातिको आयआर्जन वृद्धिका लागि रु चार लाख बजेट विनियोजन गरेको थापाले बताए।

पाँच जनासम्म सदस्य रहेको परिवारको बीमाका लागि वार्षिक रु तीन हजार पाँच सय शुल्क तिर्नुपर्छ । पाँच जनाभन्दा माथि भए प्रति रु सात सयका दरले रकम बुझाउनुपर्ने प्रावधान छ । गाउँपालिकाले स्वास्थ्य बीमा गरिदिन थालेपछि अल्पसङ्ख्यक जातिका व्यक्ति खुशी भएका छन् ।