
गत आर्थिक वर्षमा बैंकहरुको लागि टाउको दुखाइको विषय बनेको लगानीयोग्य रकम (तरलता) अभावको समस्या चालु आर्थिक वर्षमा पनि देखिएको छ । तरलता अभाव भएपछि बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट तीन महिनाभन्दा पनि कम समयमा करिब २१ खर्ब रुपैयाँ सापटी लिएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार गत साउनदेखि असोज २४ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत २० खर्ब २८ अर्ब ११ करोड रुपैयाँ अल्पकालीन सापटी लिएका छन् । यस्तै, रिपो मार्फत ५५ अर्ब १५ करोड रुपैयाँ सापटी लिएका छन् । एसएलएफ सुविधा मार्फत लिइएको सापटी अहिले ५ दिनको लागि प्रयोग गर्न पाइन्छ । गत आर्थिक वर्षसम्म यस्तो सापटी ७ दिनको लागि चलाउन पाइन्थ्यो ।
बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) मिलाउनको लागि राष्ट्र बैंकबाट एसएलएफ र रिपो सापटी लिएका हुन् । एसएलएफ सापटी लिँदा बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकलाई ८.५ प्रतिशत ब्याज तिर्नुपर्छ । रिपो मार्फत सापटी लिँदा भने बोलकबोलका आधारमा ब्याजदर तय हुन्छ । यस्तो ब्याजजदर ८ प्रतिशतको हाराहारीमा रहने गरेको राष्ट्र बैंकले जानकारी दियो ।