February 19, 2025
अशोज २४, २०७९

अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिकरूपमा समृद्ध बनाउन सकिने बताउनुभएको छ ।  आज सोमवार काठमाण्डाैमा आयोजित नेपाल ग्रीन हाइड्रोजन समिट २०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले हाइड्रोजन उत्पादन गरी बिक्री गरेर देशलाई आर्थिकरूपमा समृद्ध बनाउन सकिने बताउनुभएको हो ।

उहाँले जलवायु परिवर्तनका कारण विभिन्न असर पनि देखिन थालेको भन्दै कार्बन उत्सर्जनलाई कम गर्नुपर्ने बताउनुभयो । पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिरहेको र व्यापार घाटा भइरहेको उहाँले बताउनुभयो ।

मन्त्री शर्माले देशभित्र मात्रै हाइड्रोजनको प्रयोग गर्न सकेमा व्यापार सन्तुलनमा आउन सक्ने धारणा राख्नुभयाे । उहाँले भन्नुभयो, ‘हामीले नेपालबाट अब बिजुली बिक्री गर्नु पर्दैन । अब हाइड्रोजन बिक्री गरे पुग्छ । एमोनिया बिक्री गरे पुग्छ । हामीले पानीको सदुपयोग गरेर बिजुली उत्पादन गर्न सक्याैँ भने र त्यसबाट हाइड्रोजन, एमोनिया बनाएर विश्व बजारमा प्रतिस्पर्धी भएर पुर्‍याउन सक्यौँ भने नेपालको समृद्धि त्यहीँ छ ।