September 25, 2022
खवरसहकारी |  अशोज ७, २०७९  | 

हेटौंडा \ बैंकको व्याजदर बढेपछि कर्जा लिएका व्यवसायीहरु मर्कामा परेका छन् । आर्थिक मन्दीले व्यापार व्यवसाय घट्दो क्रममा रहेको बेला झन बैंकले व्याजदर बढाएपछि व्यवसायीको ढाड सेकिएको छ । व्याजदर बढेकै कारण शुक्रबार हेटौंडामा व्यवसायीहरुले विरोध जनाएका छन् ।

व्यवसायीहरुको छाता संगठन मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबार कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेको छ । पल्पसा हलबाट सुरु भएको विरोध प्रदर्शन हेटौंडाको बुद्धचोक, सिमाचोक, अजरअमर रोड हुदैं पारिजात पथबाट संगमचोक, मानसचोक क्षेत्रमा विरोध प्रदर्शन गरिएको हो ।

संकटको समयको माग एकअर्काप्रति मैत्रीपूर्ण व्यवहार, व्याज र किस्ताको दबाव बैंकको अव्यवहारिक प्रयास, मसान्तमा आइदैन व्यवसायी मार्न पाइदैन, चर्को व्याज वृद्धि गरी उपभोक्ता माथी अन्याय नगर जस्ता विभिन्न नारा लगाई विरोध प्रदर्शन भएको थियो ।

संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको नेतृत्वमा हेटौंडाका विभिन्न वस्तुगत व्यवसायीहरुको उपस्थिती रहेको थियो । प्रदर्शन पश्चात उक्त टोलीले प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र बागमती प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयमा ज्ञापन पत्र समेत बुझाइएको छ ।