तरलता अभावकाबीच बैंक कर्जाको ब्याजदर उच्च विन्दुमा पुगेको छ । ‘क’ वर्गको वाणिज्य बैंकहरुले प्रदान गर्ने कर्जाको ब्याजदर नै १८ प्रतिशत हाराहारी पुगेको हो । उसो त असोज महिनाका लागि वाणिज्य बैंकहरुले निक्षेपमा नै अधितम १२.१३ प्रतिशत ब्याजदर प्रदान गरिसकेका छन् । सामान्य बचतमा नै ६ देखि ८ प्रतिशत ब्याजदर प्रदान गरेका बैंकहरुले मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर प्रदान गरेका हुन् ।
अघिल्लो महिना यस्तो ब्याजदर मुद्दती निक्षेपमा बैंकहरुले ११.०३ प्रतिशतसम्म दिएका थिए । तर, असोज महिनाका लागि एकाएक बैंकहरुले ब्याजदर वृद्धि गरिदिएपछि बजारमा तरंग नै मच्चिएको छ । नयाँ ऋण लिन चाहनेहरु तर्सिन पुगेका छन् भने पुराना ऋणीहरू उच्च ब्याजदरको चपेटामा परेका छन् ।
यसअघिको भद्र सहमति तोड्दै नेपाल बैंकर्स संघले असोज महिनाका लागि ब्याजदर निर्धारणको अधिकार बैंकहरुलाई नै छाडिदियो । बैंकहरुले आफु खुशी ब्याजदर निर्धारण गरे । तथापि, राष्ट्र बैंकको नीति एक पटकमा कायम ब्याजदरको बढीमा १० प्रतिशतले मात्र थप÷घट गर्न पाउने प्रावधानका कारण बैंकहरुले असोज महिनाका लागि १० प्रतिशतले मात्र ब्याजदर बढाएका छन् । बढेको ब्याजदर अनुसार मुद्दती निक्षेपको ब्याजदर १२.१३ प्रतिशत पुगेको छ ।
थप, रेमिट्यान्स बचत खातामा बैंकहरुले १ प्रतिशतसम्मले बढी ब्याजदर दिन पाउछन् । यसो हुँदा निक्षेपको ब्याजदर १३.१३ प्रतिशतसम्म पुग्छ । बचतमा नै १३.१३ प्रतिशतसम्मको ब्याजदर प्रदान गर्नु परेपछि बैंकहरुको कस्ट अफ फन्ड (लगानी) नै बढ्दा त्यसको सोझैं असर यता कर्जाको ब्याजदरमा परेको छ । जसको खर्च उठाउन र आफ्नो नाफा बुक गर्न पनि बैंकहरुले कर्जामा १८ प्रतिशतसम्म ब्याजदर लगाउन थालेका छन् ।