हेटौंडा \ हेटौंडा–११ मा रहेको हाम्रो कृषि सहकारी संस्था लिमिटेडले दशैं पर्वलाई लक्षित गरी दशैँ खसी बजार मेला सञ्चालन गर्ने भएको छ । सहकारी संस्थाको भदौ २० गते सोमबार बसेको भेलाले दशैँ खसी बजार मेला सञ्चालन गर्ने निर्णय गरेको हो ।
‘उपभोक्तालाई लक्षित गरी दशैँ खसी बजार मेला सञ्चालन गर्न लागेका हौं’, संस्थाका उपाध्यक्ष दीपक उप्रेतीले बताए । ‘घटस्थापनाको दिनदेखि अष्टमीसम्म संस्थाको आफ्नै प्राङ्गणमा मेला सञ्चालन गर्नेछौं । किसानलाई सही मूल्य र उपभोक्तालाई सस्तो र सहज खसीबोका किन्न पाउन् भन्ने उद्देश्यले खसी बजार मेला सञ्चालन गर्न लागेका हौं ।’ दशैँ खसी बजार सञ्चालनको लागि मकवानपुर जिल्लामा रहेको बाख्रापालन समितिसंग छलफल भइरहेको छ ।
बाख्रापालन समितिका अध्यक्ष अहिले जिल्ला बाहिर भएकोले निर्णयमा ढिलाई भएको बताइएको छ । मेलामा जिउँदो खसी, बोका सहित च्याङ्ग्रा पनि राखिने छ । करिव १ सय जना शेयर सदस्य आवद्ध रहेको हाम्रो कृषि सहकारी संस्थाले तोरीको तेल, धनियाँ मसला र मकैको पिठो, च्याँख्ला विक्री गरिरहेको छ । तोरी खरिद गरि संस्थाद्धारा उत्पादित शुद्ध तोरीको तेल प्रतिलिटर ४ सय ३५ रुपैयाँमा विक्री गरिरहेको छ ।
साथै चाडपर्वलाई लक्षित गरी उपभोक्तालाई मध्यनजर गरी तोरीको तेलमा प्रतिलिटरमा केही रकम सहुलियत दिने छलफल भइरहेको संस्थाले जनाएको छ ।