मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको महिला आवाज बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधरण सभा शुक्रबार भएको छ । सहकारीले २४ औं वार्षिक सभा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख अतिथ्यतामा भएको थियो ।
सहकारीले असार मसान्त सम्ममा ८ करोड ७१ लाख ३३ हजारको कारोबार गरेको छ भने ४ करोड ९७ लाख ८६ हजार ६ सय बचत निक्षेप संकलन गर्न सफल भएको छ । सहकारीले शेयर सदस्यलाई ७ करोड २७ लाख ७७ हजार तीन सय लगानी गरेको छ । एक हजार ३७७ शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी भने १ करोड ९५ हजार तीन सय रहेको व्यस्थापक बाटुकुमारी योन्जनले बताइन् ।
सभामा असल ऋणीतर्फ सानुकान्छी स्याङ्तान, फुलमाया गोले स्याङ्तान, बाटुली माया लो र सञ्चमाया भोम्जनलाई पुरस्कृत गरिएको थियो । सोही अवसरमा नियमित बचत गर्ने गुँरास महिला समूह, आकृति किशोरी समूह, रानीसेरा महिला समूह र सुनखरी महिला समूहलाई पुरस्कृत गरिएको थियो । सहकारीले जेष्ठ शेयर सदस्य भागिरथि देवकोटा, सुनमाया दोङ, सेरोरानी घलान र वीरमाया विकलाई सम्मान गरेको थियो । त्यस्तै, प्रकृति बाल समूह, प्रतिफल बाल समूह र सौगात बाल समूहलाई उत्कृष्ट घोषित गरी पुरस्कृत गरीएको थियो ।
संस्थाका अध्यक्ष तेजकुमारी अस्थानीको सभाध्यक्षतामा भएको सभामा गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीन, वडा नम्बर २ का अध्यक्ष बखान सिं पाख्रीन, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, उपाध्यक्ष मिना चौरेल, नेफ्स्कुन हेटौंडा फिल्ड कार्यालयका सुरेन्द्र श्रेष्ठ, ग्रामिण महिला सेवा केन्द्रका उर्मिला कार्की, चन्द्रसुर्य साकोसका अध्यक्ष इन्द्रबहादुर गोले, श्रमिक दुग्ध उत्पादक सहकारीका अध्यक्ष हरि हुमागाई लगायतको आतिथ्यता रहेको थियो ।