हेटौंडा \ हेटौंडा-९ मा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको भएको निःशुल्क स्वास्थ्य परिक्षणमा ४ सय जनाले स्वास्थ्य परिक्षण गरेका छन् । सहकारीमा आवद्ध रहेका शेयर सदस्य, सहकारीका परिवार, सर्वसाधारणलाई मध्यनजर गरी मंगलबार आयोजना भएको स्वास्थ्य परिक्षणमा ६९ जनाले इसिजि, १७० जनाले भिडियो एक्सरे र १३२ जनाले रगत परिक्षण गरेका छन् ।
‘सामाजिक दायित्व वहन गर्ने उद्देश्यले विभिन्न लायन्ससँगको सहकार्य र काठमाडौं मेडिकल कलेको आयोजनामा कार्यक्रम भएको हो ।’ नारायणी बहुउद्देश्यीय सहकारी संस्थाका निवर्तमान अध्यक्ष रामहरी न्यौपानेले भने -‘स्वास्थ्य परिक्षण गरेको मध्यबाट कुनै पनि व्यक्तिको अप्रेसन गर्नुपरेमा ५० प्रतिशत छुट र अन्य उपचार गर्नुपरेमा २५ प्रतिशत छुट काठमाडौं मेडिकल कलेजले गरिदिने छ।’
लायन्स क्लव अफ भक्तपुर सिद्धकाली, लियो क्लब अफ भक्तपुर सिद्धकाली तथा काठमाडौं मेडिकल कलेज संघको संयुक्त आयोजनामा वृहत निःशुल्क स्वास्थ्य शिविर भएको हो । स्वास्थ्य शिविरको लागि वीरगञ्जमा रहेको ब्लु क्रस नाम संस्था, हेटौंडा–९ नम्वर वडा कार्यालयले औषधी सहयोग गरेको थियो । नारायणी बहुउेद्दयीय सहकारी संस्थाका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हेटौंडा ९ नम्वर वडा अध्यक्ष शुक्रराम केसी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटा, काठमाडौं मेडिकल कलेजका जनरल म्यानेजर नारायणप्रसाद दहाललगायतकोे आतिथ्यता रहेको थियो ।