
बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेलले सहकारीमा भएका विकृति रोक्न अनुगमन आवश्यक भएको बताए । मंगलबार हेटौंडामा भएको सहकारी व्यवस्थापन सम्बन्धि २ दिने पुनर्ताजगी तालिमको समापन कार्यक्रममा मन्त्री पौडेलले सहकारीहरुको प्रभावकारी अनुगमन गर्न अधिकार सम्पन्न समिति बनाउने समेत बताए ।
सहकारी क्षेत्रको विकासको लागि मन्त्रालयले विशेष कार्यक्रम बनाउने मन्त्री पौडेलले बताए । तालिम समापन कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाले सहकारीहरुको क्षमता विकासको लागि तालिमहरुको व्यवस्था गरिने बताए ।
उनले सहकारी मार्फत सदस्यहरुको जिविकोपार्जनको क्षेत्रमा कार्यक्रम गर्ने समेत बताए ।
सहकारीले कृषि विकासका लागि उत्पादन र बजारिकरणको क्षेत्रमा समेत योजना बनाउन पर्ने तालिमका सहभागी तथा कृषि सहकारी संघ मकवानपुरका प्रवन्धक नरेश आचार्यले बताए ।
हेटौंडामा संचालन भएको तालिम कार्यक्रमको समापन सत्रमा जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष वासुदेव अधिकारी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, सहभागी जानकी दाहालले मन्तव्य व्यक्त गरेका थिए ।
बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आयोजना र मकवानपुर जिल्ला सहकारी संघको समन्वयमा सहकारी रजिस्ट्रार नारायण प्रसाद ज्ञावलीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।