नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदमा नियुक्तिका लागि शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको कुसुन्ती निवासी ५३ वर्षीय माधवप्रसाद तिमल्सिना रहेका छन् । उनलाई मंगलबार ललितपुरकै थसीखेलबाट पक्राउ गरिएको हो ।
उनले जन्म मिति २०२६-१२-२६ , रजिष्ट्रेसन नं.१४९१५-८९ भएको पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको माधव प्रसाद तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र त्रि.वि.दर्ता नं. १४९१५-८९, पाटन बहुमुखी क्याम्पसको स्नातक तहको ट्रान्स्कृप्ट कीर्ते गरेको आरोप छ ।
उनले सो प्रमाणपत्र गत चैत ६ गते निवेदनका साथ बोर्डमा पेश गरेका थिए । तिमल्सिनालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको केन्द्रिय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।