![](https://www.khabarsahakari.com/wp-content/uploads/2022/06/gadhi-ditital.jpg)
मकवानपुरगढी गाउँपालिकामा डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापना हुने भएको छ । कृषि विकास बैंक प्रदेश कार्यालय चितवन र मकवानपुरगढ़ी गाँउपालिका बीच आइतबार डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापनाको लागि सम्झौता भएको छ ।
किसानहरुलाई एकीकृत गरि कृषकहरुको समस्या समाधान गर्न र कृषि बजारको पहुँच सहज बनाउन यो प्रविधिले सहज हुने बताइएको छ । डिजिटल माध्यमबाट सहि सूचना सहि समयमा प्रदान गरि कृषि क्षेत्रलाई प्रभावकारी व्यवस्थित गर्न यस कार्यक्रमले सहयोग पुग्ने विश्वास लिइएको छ ।
सम्झौतापत्रमा कृषि विकास बैंकको तर्फबाट प्रदेश कार्यालयका निर्देशक रघुनाथ न्यौपाने र वरिष्ठ शाखा अधिकृत नुरप्रसाद गौतम साथै मकवानपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र कृषि अधिकृत चन्द्रकान्त चौधरीले हस्ताक्षर गरेका छन् ।
सवै क्षेत्रमा डिजिट्लाइजेशन सुरुवात भईरहेको सन्दर्भमा डिजिटल कृषि सूचना तथा परामर्श सेवा केन्द्र स्थापना पश्चात मकवानपुरगढी गाउँपालिकाका कृषकहरुलाई डिजिटल प्रविधि मार्फत प्राविधिक सेवा एवम् खेती प्रविधि बारे जानकारी गराइनेछ । साथै मौसम सम्बन्धि, बजार मूल्य सम्बन्धि जानकारी लगायतका बालीनाली तथा पशुपन्छीपालनको विविध पक्षबारेको सूचना प्राप्त गर्न सकिने गाउँपालिका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।
साथै यस डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापना बागमती प्रदेशमै पहिलो पल्ट सुरु हुन लागेको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले बताए । गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान र उपाध्यक्ष मानकुमारी पाख्रीनको उपस्थितीमा हस्ताक्षर कार्यक्रम भएको हो ।