हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । संस्थामा आयोजित कार्यक्रममा संस्थाले आव. ०७९\८० मा गर्ने विभिन्न कार्यक्रमहरुको बारेमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा संस्थाले आव. ०७९\८० मा सहकारी शिक्षा शिविर,ज्येष्ठ नागरिक तिर्थाटन, स्थापना दिवस, सदस्यता वृद्धि, आयआर्जन, तालिम, गोष्ठी, भ्रमण लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने बताइएको छ ।
यसैगरि निःशुल्क स्वास्थ्य शिविर, विभिन्न कार्यविधि निर्माण, लघुवित्त समूह परिचालन, ज्येष्ठ शेयर सदस्य, आर्दश बुहारी र उत्कृष्ठ शेयर सदस्य सम्मान, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान, संस्थागत विकास लगायतका कार्यहरु गरिने संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा संस्थापक अध्यक्ष बासुदेव अधिकारी, पूर्व अध्यक्ष रघुप्रसाद आचार्य, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, संस्थाका पूर्व व्यवस्थापक प्रल्हाद शर्मा आचार्य, सञ्चारकर्मी भीमसेन पौडेल, शेयर सदस्य प्रकाश ढुङगाना लगायतकाले संस्थाले प्रस्तुत गरेको प्रतिवेदन माथि विभिन्न सुझावहरु पेश गरेका थिए ।
कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी, पूर्व पदाधिकारी, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमिति, सञ्चाकर्मी, शेयर सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
२ हजार ७ सय १० जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी २ करोड ४९ लाख, निक्षेप १७ करोड ५२ लाख र कर्जा लगानी १९ करोड ८१ लाख रहेको संस्थाद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

