हेटौंडा \ मकवानपुरगढी गाँउपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले सहकारी संस्थाहरुलाई व्यवस्थित गर्न आगामी आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रममा विशेष योजना समेटेर जाने बताएका छन् ।
मकवानपुरगढी ३ मा रहेको हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्थाको २४ औ वार्षिक उत्सव कार्यक्रमको अवसरमा बोल्दै उनले सहकारीमा रहेको पुँजीलाई रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी गरेर अगाडी बढ्नु पर्ने बताए ।
गरिबी निवारण गर्न सहकारी नै मुल आधार रहेको बताउदै हुदै अध्यक्ष स्याङ्तानले रोजगारी प्रवर्दन गर्न सहकारीलाई सक्रिय बनाउदै लैजानु पर्नेमा जोड दिनु भएको छ ।
संस्थाका अध्यक्ष जानकी दहालको सभाध्यक्षता भएको कार्यक्रममा गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । साथै क्यान्सर पिडितलाई आर्थिक सहयोग र बिपन्न छात्रछात्रालाई स्कुल व्याग तथा स्टेशनरी सामान पनि सहयोग गरिएको छ ।
संस्थाले मकवानपुरगढी ३ की क्यान्सर पिडित रुपमैना चौरेललाई नगद रु ५ हजार आर्थिक सहयोग प्रदान गर्नुका साथै बिपन्न तथा अभिभावक गुमाएका मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ की अनिता थोकर, वडा नम्बर २ की मनिषा घलान, वडा नम्बर ३ की गोमा लक्ष्मी लुङवा, वडा नम्बर ५ की प्रकृती सुवेदी, वडा नम्बर ६ का सुसन स्याङ्तान, वडा नम्बर ७ का पवन वाईबा, वडा नम्बर ८ का रोज घलान, वडा नम्बर ९ का रन्जना थिङलाई स्कुल व्याग तथा स्टेशनरी सामान सहयोग गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष जानकी दहालले सहकारीले गर्दै आएका कार्य र भावी योजनाको बारेमा जानकारी गराएकी थिइन् । मकवानपुरगढी कै पहिलो बहुउद्देश्यीय सहकारीको रुपमा रहेको यस संस्थामा हाल कुल १२ सय ७ शेयर सदस्य रहेका छन । संस्थाको शेयर पूँजी २६ लाख २७ हजार ५सय , बचत रु ३ करोड १० लाख ५ हजार ८ सय ९९ रहेको छ । संस्थाको ऋण लगानी ४१ लाख ८ हजार ४ सय ४५ र कुल कारोबार ४ करोड ६१ लख २६ हजार २ सय ६५ रुपैया रहेको संथाकी अध्यक्ष जानकी दहालले बताइन् । सहकारीले पाठा पाठी साटासाट कार्यक्रम, बेसार खेती, युरिया र डिएपी मल खरीद बिक्री लगायत विभिन्न सामाजिक कार्यहरुपनि गर्दै आएको छ ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे, वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण प्रसाद बजगाँई, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाल, मकवानपुर गढी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा संस्थाका संस्थापक अध्यक्ष सोविता पोखरेल लगायत संस्थाका पदाधिकारी कर्मचारी, शेयर सदस्य लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष शारदा दाहालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।