हेटौडा \ राष्ट्रिय वाणिज्य बैंक हेटौडा शाखाबाट एक सेवाग्राहीको भौचर भर्ने क्रममा २ लाख रुपैया नगद हराएको छ । हेटौडा १० मा रहेको म्यापल रेष्टुरेण्ट संचालक युवा व्यवसायी राम महर्जनले आईतबार बैंक खातामा जम्मा गर्न लगेको नगद दुई लाख रुपैयाँ रकम बैंकभित्रैबाट हराएपछि अहिले प्रहरी प्रशासनले पैसा लिने व्यक्तिको खोजी सुरु गरेको छ ।

महर्जनले २ लाख ५५ हजार रुपैया रकम लिएर आईतबार दिउँसो सवा एक बजे बैंक भित्र प्रवेश गरेका थिए । उनी २ लाख ५५ हजार रुपैयाको भौचर भरेर पैसा जम्मा गर्न लाईन बसे । महर्जनले ५५ हजार रुपैयाँ गोजीमा र २ लाख भने हात लिएर लाइन बसेका थिए ।

भौचरमा खाता नम्बर लेख्न बिर्सेकाले पुनः उनी लाइन छोडी भौचरभर्ने स्थानमा पुगेका थिए । भौचरमा खाता नम्बर लेख्ने क्रममा उनले हातमा रहेको २ लाख नगद टेबलमा राखेर भौचर नम्बर भरेका थिए । भौचर भरेर उनी पैसा त्यही बिर्सेर लाईन बस्न पुगे । जब उनले काउण्टरमा पैसा बुझाउन खोजे हातमा पैसा थिएन । उनले हतारहतार भौचरभर्ने ठाँउमा हेर्नपुगे त्यहाँ राखिएको पैसा थिएन ।

करिब डेढ मिनेको अवधिमा महर्जनको पैसा गायव भएको यनी बताउछन् । हराएपछि उनले बैंक म्यानेजर तथा कर्मचारीहरुलाई खबर गरे । सोधपुछ पछि पनि पैसा पत्ता नलागेपछि महर्जनले सुरक्षा निकायको मद्दत लिन पुगे । अहिले सुरक्षा निकाय बैंकमा रहेको सिसी क्यामराको सहयोगमा पैसा लैजाने व्यक्तिको खोजि भइरहेको छ ।

अचम्म कुरा राष्ट्रिय वाणिज्य बैंक हेटौडा शाखाको भौचरभर्ने स्थानमा स्थरीय सिसी क्यामरा खासै तयारी अवस्थामा नरहेको देखिन्छ । यसले बैंक भित्र पैसा लिएर जादा सुरक्षित बनिन्छ भन्ने धारण गलत सावित भएको छ । एकजना व्यक्ति काउण्टरको सिसी क्यामरामा शंकाको घेरामा छन् । ति व्यक्ती बैंक प्रवेश गरेको र बाहिर आएको समय हेर्दा र उनको हाउभाउको मद्दतबाट मात्र उनलाई शंका गर्ने बाटो छ । यति ठुलो सरकारी बैंकमा प्रवेशद्धार र काउण्टरमा मात्र रहेको सिसिक्यामराले संकास्पद व्यक्तिको पहिचान गर्न मुस्किल परेको छ ।

बैंकको पछाडीपटिको भागमा समेत सिसिक्यारा छैन यसले बैंकको सुरक्षामा समेत चुनौती थपिएको छ । बैंकका कार्यबहाक म्यानेजर नविन भण्डारी यो घटनाले पाठ सिकाएको बताउछन् । उनले सक्दो रुपमा हराएको रकम भेट्ने व्यक्ति खोज्ने कार्यमा बैंक लागि परेको बताए ।

यता रकम हराएपछि महर्जनले बैंकभित्र पनि रकम सुरक्षा नहुने भन्दै सबै बैंकहरुले काउण्टर तथा बाहिर भित्र,अगाडी,पछाडीको भागमा सुरक्षाको हकमा पनि स्तरीय सिसिक्यामरा राख्नुपर्नेमा जोड दिन्छन । यो घटनाले राष्ट्रिय वाणिज्य बैंक हेटौडा शाखालाई समेत चुनौति दिएको छ । सुरक्षा निकाय संकास्पद व्यक्तिको पहिचान गर्ने क्रममा रहेको बताईएको छ ।