December 12, 2024
फाल्गुन १५, २०७८

काठमाडौं \  सहकारी विभागले सहकारी सन्दर्भ व्याजदर १६ प्रतिशत तोकेको छ । सन्दर्भ व्याजदर निर्धारण समितिको बैठकले १६ प्रतिशत व्याजदर तोकेको हो ।

सहकारी अभियानले बैंक तथा वित्तीय संस्थामा देखापरेको तरलता अभाव तथा बढेको व्याजदर र सहकारीमा क्यापिङका रूपमा रहेको १४.७५ प्रतिशत सन्दर्भ व्याजदरका कारण सम्पत्ति दायित्व व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको भन्दै आन्दोलन गर्दै आएको थियो ।

बैठकले अब चार/चार महिना नियमितरूपमा बैठक बसी सन्दर्भ व्याजदरको विषयमा छलफल गर्ने निर्णयसमेत गरेको छ । यसअघि गत कात्तिकमा सन्दर्भ व्याजदर १४.७५ प्रतिशत तोकिएको थियो । सन्दर्भ व्याजदर निर्धारण समितिको संयोजकमा रजिष्ट्रार रहने व्यवस्था छ ।

समितिका सदस्यमा अर्थ मन्त्रालयका श्याम आचार्य, राष्ट्र बैंकका प्रतिनिधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रतिनिधि रघुनाथ महत, सहकारी विकास बोर्डका अनिल पौडेल, राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्याल, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *