January 13, 2025
फाल्गुन ३, २०७८

श्रीराम अर्जुन


मकवानपुर \  बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पिपिआर रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान कार्यक्रममा प्रदेशभरका १३ वटा जिल्लाका ८ लाख ३० हजार १८७ वटा भेडाबाख्रामा खोप लगाइएको छ ।

माघ २५ गतेबाट खोप अभियान सञ्चालन फागुन ३ गते सम्ममा ८ लाख ३० हजार १८७ वटा भेडा बाख्रामा खोप लगाइएको पशुपन्छी विकास महाशाखाका पशु चिकित्सक डा. सृजा वाग्लेले बताउनुभयो । उहाँले ८ हजार ६९८ वटा भेडा र ८ लाख २१ हजार ४८९ वटा बाख्राजातमा खोप लगाइएको बताउनुभयो ।

पहिलो चरणमा मकवानपुरमा सबैभन्दा धेरै खोप लगाइएको डा. वाग्लले बताउनुभयो । मकवानपुरमा एक लाख ६६ हजार ४२३ वटा बाख्राहरुमा खोप लगाइयो भने नुवाकोटमा एक लाख २० हजार १९ वटा भेडाबाख्रामा खोप लगाइएको छ ।

सबैभन्दा कम भक्तपुरमा ६ हजार १८१ वटामा लगाइएको डा. वाग्लेले बताउनुभयो । प्रदेशका स्थानीय तहका सबै वडाहरुमा खोप भ्याक्सिनेटर परिचालन र खोपकेन्द्र सञ्चालन गरि पहिलो पटक प्रदेश सरकारले खोप अभियान गरेको हो । पहिलो चरणमा एक करोड १९ लाख बजेटबाट ११ लाख ९० हजार खोपको मात्रा खरिद गरी खोप अभियान सुरु गरिएको हो । प्रदेशमा भेडाको संख्या ९३ हजार ६३९ र बाख्राको संख्या २३ लाख ५१ हजार २१७ रहेको मन्त्रालयका प्रवक्ता राजन ढकालले बताउनुभयो ।

११ लाख ९० हजार खोपको मात्रा भएता पनि एक सातामा ८ लाख ३० हजार १८७ मात्रा प्रयोग गरिएको देखिन्छ । एकचोटी लगाएपछि भेडाबाख्राहरुमा तीन वर्ष लगाउन नपर्ने हुन्छ । पहिलो चरणमा काभ्रेमा ९९ हजार १८२, ललितपुरमा २७ हजार ५८७, काठमाडौंमा ३१ हजार ५५७, दोलखामा ९४ हजार ९९८ वटालाई खोप लगाइएको छ ।

त्यस्तै, सिन्धुपाल्चोकमा १५ हजार ९५२, सिन्धुलीमा ४५ हजार ८२५, रामेछापमा ४४ हजार ६१०, चितवनमा ७१ हजार ४१८, रसुवामा २३ हजार १६५ र धादिङमा ८३ हजार २७० वटा गरि ८ लाख ३० हजार १८७ वटा भेडाबाख्रालाई खोप लगाइएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेशका दोलखा, काभ्रे, चितवन, नुवाकोट, रसुवा र धादिङ जिल्लामा भने भेडामा पनि खोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *