काठमाडौं \ चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो ६ महिनामा नेपाल भित्रने रेमिट्यान्स ५.५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स घटेको हो ।
नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको पछिल्लो ६ महिनाको विवरणअनुसार २०७८ साउनदेखि पुससम्म नेपालमा ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७–७८ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ११.१ प्रतिशतले बढेको थियो ।
नेपाल भित्रने रेमिट्यान्स अमेरिकी डलरमा ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स ६।७ प्रतिशतले बढेको थियो ।
पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ६७ हजार ५१३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९.० प्रतिशतले घटेको थियो ।
यसैगरि चालु आर्थिक वर्षको ६ महिनामा ५.६५ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५.६५ प्रतिशत पुगेको हो । गत वर्षको सोही समयमा ३.५६ प्रतिशत मात्रै मूल्यवृद्धि भएको थियो । गत आ.वको तुलानामा २.०९ प्रतिशतले मूल्य वृद्धि बढेको हो ।