मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका–३ मक्राञ्चुलीस्थित श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारणसभा गरेको छ। संस्थाकी अध्यक्ष निर्मला कुमारी लम्सालको सभाध्यक्षतामा सभा भएको हो । साधारणसभामा संस्थाको आर्थिक वर्ष २०८२/८३ को प्रगति, आय–व्यय, ऋण लगानी तथा आगामी वर्षको कार्ययोजनाबारे जानकारी गराइएको थियो। संस्थाले आर्थिक वर्ष २०८२/८३ मा करिब ३१ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ। सो अवधिमा १२ करोड ७३ लाख ७३ हजार रुपैयाँ ऋण लगानी गरिएको छ भने संस्थाको कुल ऋण लगानीमा रहेको रकम २५ करोड १४ लाख ३३ हजार रुपैयाँ पुगेको छ।

संस्थाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा करिब ८९ लाख ८६ हजार रुपैयाँ नाफा भएको छ। आगामी आर्थिक वर्षमा उत्पादनमूलक तथा आयआर्जनका क्षेत्रमा थप ऋण लगानी विस्तार गर्ने योजना संस्थाले अघि सारेको छ। हाल संस्थामा १ हजार ६ सय ८५ जना शेयर सदस्य छन्। संस्थाको शेयर पुँजी १ करोड ८१ लाख ८२ हजार रुपैयाँ रहेको छ भने सदस्यबाट संकलित निक्षेप १३ करोड १५ लाख ७७ हजार रुपैयाँ पुगेको संस्थाका व्यवस्थापक गीता लम्सालले बताइन् ।

सहकारीले सदस्यको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले बचत तथा ऋणसँगै कृषि तथा आयआर्जनका गतिविधिमा लगानी गर्दै आएको जनाएको छ। सदस्यकेन्द्रित कार्यक्रमअन्तर्गत मृत्यु राहत कोष, ब्याज छुट, ऋण जोखिम कोष, मलखाद खरिद तथा अनुदानलगायतका कार्यक्रम सञ्चालन गरिँदै आएको संस्थाले जनाएको छ। कृषि व्यवसाय, आयआर्जन तथा उत्पादनमूलक क्षेत्रमा सदस्यको आवश्यकता पहिचान गरी लगानी विस्तार गर्ने योजना रहेको संस्थाले जनाएको छ।

May be an image of one or more people and dais

साधारणसभाका अवसरमा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्य तथा असल ऋणीलाई सम्मान गरिएको थियो। बाल बचततर्फ कुसल रुम्बा, रोहित थापा, आकृति सुवेदी, सोनिषा न्यौपाने र अन्जन लोप्चन पुरस्कृत भए। वृद्ध बचततर्फ सानुमाया बज्यु र गणेशबहादुर पौडेल तथा वृद्ध शेयर सदस्यतर्फ नन्दकुमारी घिमिरेलाई सम्मान गरिएको थियो। त्यस्तै, असल ऋणीका रूपमा अम्बिका मुडभरी, हरिमाया सापकोटा, कमला दाहाल, निर्मला विक, निबिता नेगी, विमला सुनुवार र सुकुमाया भ्लोनलाई सम्मान गरिएको थियो। साधारणसभामा सहकारीको आगामी कार्यदिशा, सदस्यको आर्थिक अवस्था सुधार, कृषि व्यवसाय प्रवर्द्धन, उत्पादनमूलक क्षेत्रमा ऋण लगानी विस्तार तथा संस्थालाई थप सदस्यकेन्द्रित बनाउने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा कृषि सहकारी सङ्घका केन्द्रीय अध्यक्ष एकराज उप्रेतीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली, वडा नं। ३ का अध्यक्ष भागवत घिमिरे, वडा नम्बर ४ का अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, पशुसेवा कार्यालय मकवानपुरका प्रमुख रामप्रकाश प्रधान,मकवानपुरगढी गाउँपालिका सहकारी विभाग प्रमुख सूर्यबहादुर गुरुङ, पशु शाखा प्रमुख सत्यनारायण साह, कृषि शाखा प्रमुख गोपाल लम्साल, बागमती प्रदेश कृषि सहकारीका बिमला कार्की, मनकामना दूध उत्पादन सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहाल, जागरण बचत ऋण सहकारी संस्थाका अध्यक्ष शत्रुघन दुलाल, बृहत खानेपानी आयोजनाका सचिव कृष्णप्रसाद पोखरेल, सृजनशील समाज बचत ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर बिडारी, हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सरस्वती अधिकारी, लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम संस्थाकी व्यवस्थापक गीता लम्सालले सञ्चालन गरेकी थिइन् ।