हेटौंडा \ ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा विद्यालयका बालबालिकालाई स्टेशनरी सामग्री सहयोग गरिएको छ । हेटौंडा १२ पान्तलेमा रहेको महिला सेवा बचत तथा ऋण सहकारी संस्थाले दिवसको अवसरमा बालबालिकाको शैक्षिक विकासमा सहयोग र्पुयाउने तथा अध्ययनप्रति उनीहरूलाई थप उत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष अचला शर्माले गरेकी थिइन् भने विद्यालयका प्रधानाध्यापक गोकुल प्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई संस्थाकी सचिव कल्पना रूम्बाले गरेकी थिइन् । कार्यक्रममा संस्थाकी उपाध्यक्ष रुक्मिणी गोङ्बाले स्वागत भनाई राखेकी थिइन् भने संस्थाको परिचय तथा कार्यक्रमको उद्देश्यबारे संस्थाकी व्यवस्थापक शुसिला कुमारी वाइबाले जानकारी गराएकी थिइन् ।

उनले विद्यालयका कक्षा १ का ४ जना, कक्षा २ का ४ जना, कक्षा ३ का तीन जना, कक्षा ४ का ४ जना, कक्षा ५ का ५ जना गरि २० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको बताइन् ।

कार्यक्रममा संस्थाका सञ्चालक, लेखा सदस्य, कर्मचारी तथा विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो । बालबालिकाको शिक्षामा सहयोग गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनमा थप प्रेरणा मिल्ने संस्थाले जनाएको छ ।