हेटौँडा \ हेटौंडा २ मा रहेको प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ८२ हजार १३० रुपैयाँ सहयोग गरेको छ ।
उक्त सहयोग रकम शेयर सदस्यबाट प्रतिव्यक्ति २० रुपैयाँका दरले ५३ हजार ६२०, कर्मचारीबाट दुई दिनको तलब १४ हजार ९१० र सञ्चालक र लेखासुपरीवेक्षण समितिको बैठक भत्ताबाट १३ हजार ६०० रुपैयाँ संकलन गरिएको संस्थाका व्यवस्थापक बद्रीप्रसाद भण्डारीले बताए ।
संस्थाका अध्यक्ष मिठाराम दहालले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताए । “सहकारी संस्था आर्थिक कारोबारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्था पनि हो । प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई थोरै भए पनि राहत पुग्ने उद्देश्यले संस्थाले सहयोग गर्ने निर्णय गरेका हौं,” उनले भने ।
संस्थाले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी कार्य प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह समेत गरेको छ ।


