हेटौँडा \ रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ । भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारी तथा गैरसरकारी क्षेत्रसँगै सहकारी संस्थाहरूले समेत मानवीय सहयोगलाई प्राथमिकता दिएका छन् ।
यसै क्रममा हेटौंडा १५ भार्ले स्थित महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार सहयोग गरेको छ । संस्थाका व्यवस्थापक माया तामाङले समितिबाट १२ हजार, कर्मचारीबाट ६ हजार ६४८, संस्थाको कोषबाट २० हजार र प्रतिशेयर सदस्यबाट १५ रुपैयाँका दरले ३३ हजार रकम संकलन गरिएको बताइन् । संकलित रकम मध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार सहयोग गरिएको उनले बताइन् ।
बाकीँ रकम बाढी तथा पहिरोमा परि मृत्यु भएका वडा १५ भोर्ले निवासी सुमन गोले र हेटौंडा १५ गौरीटार निवासी रमेश मगरका परिवारलाई १०/ १० हजार रुपैयाँ र एक हजार ६४८ रुपैयाँको जिन्सी सामाग्री सहयोग गरिएको व्यवस्थापक तामाङले बताईन् ।
बाढी तथा विपद्का बेला पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु सामाजिक उत्तरदायित्वसमेत भएकाले सहकारी संस्थाले आफ्नो क्षमताअनुसार सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष जुना दंगालले बताइन् । सहकारीले आफ्ना सदस्य तथा संस्थागत स्रोतबाट रकम संकलन गरी बाढीपीडितका लागि सहयोग गरेको बताउँदै “विपद्का बेला पीडितको दुःखमा साथ दिनु मानवीय दायित्व हो । थोरै–थोरै सहयोगले पनि विपदमा परेका नागरिकका लागि ठूलो राहत पुग्न सक्छ, सहकारीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कामलाई निरन्तरता दिइनेछ ।” उनले भनिन् ।


