हेटौँडा \ हेटौँडा–६, चौघडास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवा बाढी प्रभावितका लागि सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक लाख ११ हजार १११ रुपैयाँ हस्तान्तरण गरेको छ ।
बिहीबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई भेटेर कोषमा रकम जम्मा गरिएको जानकारी गराउँदै डमी चेक हस्तान्तरण गरिएको छ । विपद् पीडितहरूको उद्दार, राहत तथा पुनःस्थापनाको कार्यमा थोरै भए पनि टेवा पुगोस् भन्ने उद्देश्यका सहकारीले सहयोग गरेको संस्थाका अध्यक्ष हिमाल पौडेलले बताए ।
अध्यक्ष पौडेलले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए । सहकारीले संस्थागत स्रोतबाट बाढीपीडितका लागि सहयोग गरेको बताउँदै “विपद्का बेला पीडितको दुःखमा साथ दिनु मानवीय दायित्व हो । थोरै–थोरै सहयोगले पनि विपदमा परेका नागरिकका लागि ठूलो राहत पुग्न सक्छ, सहकारीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कामलाई निरन्तरता दिइनेछ,” उनले भने ।
चेक हस्तान्तरणमा सहकारीका अध्यक्ष हिमाल पौडेल, सल्लाहकार बद्रिबहादुर पाठक, वडासदस्य विजय पौडेलसहित संस्थाका पदाधिकारीको उपस्थिती रहेको थियो ।


