हेटौँडा \ रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि हेटौँडा–११ स्थित श्री बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले बुधबार एक लाख १ हजार ३७५ सहयोग गरेको छ । भदौ १० गते रसुवामा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठले बताइन् ।
सहकारीले प्रतिव्यक्ति सदस्यबाट १५ रुपैयाँका दरले ६० हजार ३७५, समिति तथा उपसमितिको एक दिनको बैठक भत्ताबाट २१ हजार, कर्मचारीको एक दिनको तलबबाट ८ हजार १६० र संस्थाको कोषबाट ११ हजार ८४० गरी कुल एक लाख १ हजार ३७५ सहयोग गरेको उनले बताइन् ।
सहकारीका अध्यक्ष आशा कुमारी अधिकारीले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताइन् । उनले सहकारीले आफ्ना सदस्य तथा संस्थागत स्रोतबाट रकम संकलन गरी बाढीपीडितका लागि सहयोग गरेको बताउँदै “विपद्का बेला पीडितको दुःखमा साथ दिनु मानवीय दायित्व हो । थोरै–थोरै सहयोगले पनि विपदमा परेका नागरिकका लागि ठूलो राहत पुग्न सक्छ, सहकारीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कामलाई निरन्तरता दिनेछ,” उनले भनिन् ।


