काठमाडौं \  नेपाल  सहकारी पत्रकार समाज (सीजेएन)ले १६औं स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको छ । समाजले जिनोब इन्क. प्रा. लि. ले विकास गरेको फिनएक्स सीबीएस ‘सम्पूर्ण सहकारी सफ्टवेयर इकोसिस्टम’ को मुख्य प्रायोजनमा फुटसल प्रतियोगिता सम्पन्न गरेको हो । भदौ १६ गते ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ सहकारीकर्मी र सञ्चारकर्मीहरुबीच एक दिवसीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो ।

काठमाडौंको थापागाउँस्थित रोयल फुट्सलमा बिहान साढे १० बजेदेखि  भएको  प्रतियोगितामा सहकारीकर्मी र सिजेएनका सदस्यहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो । खेलकुदको माध्यमबाट स्वस्थ जीवनशैली प्रवर्धन गर्नुका साथै सहकारीकर्मी र सञ्चारकर्मीहरुबीच आत्मीय सम्बन्ध विस्तार गर्ने मुख्य उद्देश्यका साथ समाजले फुटसल प्रतियोगिता आयोजना गरेको सीजेएनका अध्यक्ष अर्जुन खतिवडाले बताए । फुटसल प्रतियोगितामा राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, विषयगत संघ तथा प्रारम्भिक संस्थाका प्रतिनिधित्व रहेको थियो भने सीजेएन कार्यसमिति, सदस्यहरु एवम् विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता थियो ।

प्रतियोगितामा प्रत्येक टिममा ५ जना सहभागी रहने गरी ५ टिमबीच प्रतिस्पर्धा गराइएको थियो । सीजेएनको साउन २९ गते बसेको कार्यसमितिको बैठकले फुटसल आयोजना गर्ने निर्णय अनुसार प्रतियोगिता सम्पन्न गरेको हो । फुटसल जस्तो मानसिक एवम् शारिरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने प्रतियोगिताले सहकारी अभियान र सञ्चारकर्मीहरुबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास समेत लिइएको छ ।

सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको क्षमता अभिबृद्धि, हकहित संरक्षण र वृत्ति विकास गर्ने मुख्य उद्देश्यका साथ २०६८ सालमा स्थापना भएको समाजले यही भदौ १९ गते १६औं स्थापना दिवस मनाउँदैछ।