हेटौँडा \ भाद्र १० गते रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मकवानपुर जिल्ला सहकारी सङ्घले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ ।
बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएपछि विपदमा परेका नागरिकलाई राहत पुर्याउने उद्देश्यले सङ्घले उक्त सहयोग गरेको हो । सङ्घले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपदमा परेका नागरिकको पीडामा सहकारी क्षेत्र पनि सँगै उभिनुपर्ने संघले जनाएको छ ।
सङ्घका अध्यक्ष नारायणप्रसाद देवकोटाले विपद्को समयमा सहयोग गर्नु मानवीय दायित्वसँगै सहकारी क्षेत्रको सामाजिक जिम्मेवारी भएको बताए । “रसुवामा आएको बाढीले धेरै परिवारलाई पीडामा पारेको छ । यस्तो विपद्को समयमा पीडितको साथमा उभिनु हाम्रो मानवीय दायित्व हो,” उनले भने । सहकारी क्षेत्र केवल बचत तथा ऋणको कारोबार गर्ने क्षेत्र मात्र होइन, समाजप्रतिको जिम्मेवारी बहन गर्ने अभियान पनि हो । त्यसैले सङ्घको तर्फबाट एक लाख एक हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेका हौँ, अध्यक्ष देवकोटाले भने ।
उनले मकवानपुरमा रहेका सम्पूर्ण सहकारी संस्था तथा विषयगत सहकारी सङ्घहरूलाई समेत विपद्मा परेका नागरिकको सहयोगका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्न आह्वान समेत गरेका छन् । एउटा संस्थाको सहयोग सानो देखिए पनि सबै सहकारी एकजुट हुँदा ठूलो राहत बन्न सक्छ, उनले भने । विपद्का बेला आर्थिक सहयोगसँगै राहत, उद्धार तथा पुर्नःस्थापनाका अभियानमा सहकारी क्षेत्रको सामूहिक सहभागिता आवश्यक रहेको सङ्घले जनाएको छ ।


