हेटौंडा \ हेटौंडा उपमहानगरपालिका २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी व्यवस्थापक रमला कुमारी सापकोटा बागमती प्रदेशकै उत्कृष्ट व्यवस्थापक हुन सफल भएकी छन् ।

नेफ्स्कुनको ३९ औं स्थापना दिवसको अवसरमा आइतबार चितवनमा आयोजित विशेष समारोहबीच सापकोटालाई बागमती प्रदेशकै उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित गरिएको हो । सहकारी संस्थाको व्यवस्थापकको रुपमा दशक बढी समय खर्चिएकी सापकोटाले आफूले सहकारी क्षेत्रमा भएका विकृतिलाई आफ्नो संस्थामा भित्रिन नदिएकै कारण सम्मानित हुन सफल भएको बताइन् ।

नेफ्स्कुनले गरेको सम्मानले आगामी दिनमा सहकारीमा अझै सक्रिय ढंगले कार्य गर्दै शेयर सदस्यहरुको उच्चत्तम हितमा काम गर्ने प्रेरणा जागेको छ, उनले भनिन् । आगामी दिनमा थप उर्जाका साथ सहकारी र सदस्यहरुको हितमा काम गर्नेछु ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका कार्यक्षेत्र रहेको संस्थाका अध्यक्ष हरि प्रसाद पौडेलले बताए । सहकारीमा उत्कृष्ट व्यवस्थापनकै कारण हातेमालो सहकारी संस्था आज शेयर सदस्य र सरकारकै नमुना सहकारीको रुपमा विकसित भएको बताए । उनले सहकारीलाई अब थप व्यवस्थित र उत्पादनसँग जोडेर शेयर सदस्यहरुको आम्दानी अभिवृद्धिमा दृढ संकल्प भएर काम गर्ने हौसला मिलेको उनले बताए ।

असार मसान्त सम्ममा सहकारीको ८० करोड १० लाख ४७ हजार, ५५४ रुपैयाँ कुल सम्पति रहेको छ । आफ्ना शेयर सदस्यलाई करिब साढे ५८ करोड कर्जा लगानी गरेको व्यवस्थापक सापकोटाले बताईन् । तीन हजार ११४ जना सदस्य रहेको संस्थामा ६ करोड ९२ लाख ३० हजार तीन सय शेयर पुजीँ रहेको छ । संस्थामा ६० करोड २६ लाख भन्दा बढी निक्षेप र ४ करोड ८२ लाख ६८ हजार जगेडा कोष रकम रहेको उनले बताईन् ।

सापकोटा सँगै सात प्रदेशका एकएक जना व्यवस्थापक सम्मानित भएका छन् । नेफ्स्कुनले हेटौंडा १३ मा रहेको महिला सेवा बचत तथा ऋण सहकारी संस्थालाई नेफ्स्कुन सर्वोत्कृष्ट संस्था सम्मान (राष्ट्रिय महिला) तर्फ सम्मानित भएको छ । महिला सेवा सँगै नेफ्स्कुनले राष्ट्रिय स्तर तथा प्रदेश स्तरीय विभिन्न विधामा सहकारीहरु, सहकारी अभियान्ता, पत्रकार, कर्मचारी, व्यवस्थापक लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।