काठमाडौं \ सुनको मूल्यमा आज पनि पहिरो गएको छ। गएको बुधबार तोलामा ११ हजार रुपैयाँ घटेको सुनको मूल्य आज पनि तोलामा ४२ सय रुपैयाँ घटेको हो। सुनको मूल्य आज तोलाको तीन लाख १३ हजार चारसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ।
गएको बुधबार सुनको भाउ तोलाको तीन लाख १७ हजार ६ सय रुपैयाँ थियो। गएको आइतबारदेखि मंगलबारसम्ममा १३ हजार सातसय रुपैयाँ बढेको सुनको भाउ दुई दिनमै १५ हजार दुईसय रुपैयाँ घटेको हो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँ घटेको छ। गत बुधबार चाँदीको भाउ तोलामा २७५ रुपैयाँ घटेको थियो। मूल्य घटेर आज चाँदीको भाउ पाँच हजार चारसय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।

