हेटौंडा \ मकवानपुरको दुई निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। यहाँ ५९ प्रतिशतको हाराहारीमा मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार जिल्लाको कुल मतदाता सङ्ख्या ३ लाख १५ हजार ३३४ रहेकोमा १ लाख ८६ हजार ५५१ मत खसेको हो। करिब ५९ प्रतिशत मत खसेको मकवानपुरमा ९६ हजार ६३४ जना पुरुषले मतदान गरेका छन् भने, ८९ हजार ९१२ जना महिलाले मत खसालेका छन्। त्यस्तै अन्य पाँच जना मतदानमा सहभागी भएका छन् । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर- १ मा ९५ हजार ३१० मत खसेको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर- २ मा ९१ हजार २४१ मत खसेको छ। मकवानपुरका दुई अस्थायी गरी ३७६ मतदान केन्द्रमा निर्वाचन गराउन ३ हजार ३६६ कर्मचारी खटिएका हुन् । जिल्लामा १६७ मतदान स्थल रहेका थिए । हाल यहाँ मतपेटिका सङ्कलन कार्यलाई तीव्र पारिएको छ। त्यसोत निर्वाचन कार्यालय मकवानपुरका प्रमुख निर्वाचन अधिकारी हरि प्रसाद ढकालका अनुसार शुक्रबार विहान सर्वदलीय बैठक सम्पन्न भए लगतै मतगणना सुरु गरिनेछ । मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना स्थल भुटनदेवी माविलाई तोकिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार हेटौडा ४ स्थित भुटनदेवी माविको दुईवटा ब्लकमा मतगणना गर्ने गरी तयारी गरिएको हो।
मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर – १ को मतगणना भुटानदेवी माध्यमिक विद्यालयको `ए´ उत्तरतर्फको भवनमा गरिनेछ, भने मकवानपुर क्षेत्र नम्बर- २ को मतगणना विद्यालयको `बी´ ब्लकमा गरिनेछ। सबै मतदान केन्द्रहरुबाट मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि मात्र मतगणना सुरु गरिनेछ । मकवानपुरका ८ मतदान केन्द्रमा सिधै सडक पहुँच नपुगेका कारण निर्वाचन सामग्री ढुवानी तथा मतदानपछि मतपेटिका संकलनका लागि छिमेकी जिल्लाको सडक प्रयोग गर्नुपर्ने भएको छ । बकैया गाउँपालिकाको ३ र राक्सिराङ गाउँपालिकाको पाँच मतदान केन्द्रमा मकवानपुरबाट बाटो नहुँदा छिमेकी जिल्ला रौतहट बारा र चितवनको सडक मार्ग प्रयोग गर्नुपर्ने भएको हो । हाल ती आठ केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लिएर आउने कार्य भइरहेको जनाइएको छ ।

