काठमाडौं \ मुलुक निर्वाचनमा होमिएसँगै अर्थतन्त्र समेत चलायमान बन्दै गएको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष ७ महिना (साउन–माघ) सम्म वैदेशिक व्यापार १३ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

विभागको तथ्यांक अनुसार माघसम्म १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबर वैदेशिक व्यापार भएको छ । जसमा आयात ११ खर्ब २३ अर्ब ४८ करोड पुगेको छ । निर्यात १ खर्ब ६८ अर्ब १४ करोड बराबर भएको छ । पुससम्म एक महिनामै वस्तु आयात पौने २ खर्ब बराबर भएको छ ।

पुससम्म १० खर्ब ८१ अर्ब बराबर रहेको वैदेशिक व्यापार आकार एक महिनामै १३ खर्ब नजिक पुगेको हो । अर्थात्, एक महिनामा २ खर्ब १० अर्ब रुपैयाँले व्यापार बढेको देखिएको छ ।

एक महिनामै वस्तु आयात र निर्यात दुवैमा उत्साह देखिएको छ ।  हरेक निर्वाचनले अर्थतन्त्रको आन्तरिक तथा वाह्य क्षेत्र चलायमान बनाउन भूमिका खेल्छ ।यस समयमा साविकको तुलनामा पेट्रोलियम पदार्थ खपत बढ्छ । सरकारले सवारीसाधन खरिद बढाउँछ । अन्य आवश्यक मसलन्द खपत समेत बढ्ने भएकाले निर्वाचनका बेला वैदेशिक व्यापारमा सुधार देखिने गर्छ ।

तथ्यांक अनुसार कुल वैदेशिक व्यापारमा माघसम्म १५.७६ प्रतिशत सुधार देखिएको छ । अघिल्लो वर्ष यसै अवधिमा कुल वैदेशिक व्यापार आकार ११ खर्ब १५ अर्बमात्र थियो ।